603df3b30152f_fire_front

ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङको दोभान बजारमा मङ्गलबार बिहान लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । सदरमुकाम फुङ्लिङ बजारपछि जिल्लाकै दोस्रो ठूलो बजारको रुपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा बिहान करिव ९ः१५ बजे सुरु भएको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाका अनुसार आगलागी नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र (दमकल), एक्साभेटरसहित उपकरण प्रयोग गरिएको छ । यस्तै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयसहितको जनशक्ति आगो नियन्त्रणमा जुटेको प्रनाउ राणाले बताउनुभयो । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइनसके पनि बाँकी रहेका अन्य संरचनासम्म फैलिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।
यता आगलागीबाट करिव ४५ वटा घरहरु नष्ट भएको बताइएको छ । यकिन तथ्याङ्क भने आई नसकेको प्रनाउ राणाले बताउनुभयो । तत्काललाई आगलागी नियन्त्रण भए पनि पुनः फैलनसक्ने अवस्था रहेकाले प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण लगायतका जनशक्ति आगो निभाउनमा खटिरहेका निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बारुणयन्त्रले बजार नजिक रहेको मैवाखोलाको पानी भरेर आगो निभाउने कार्य भइरहेको छ ।
आगो दोभान बजार नजिक खाम्लुङको साक्फारा वन क्षेत्रमा पनि प्रवेश गरेकाले थप क्षतिको सम्भावना भएको प्रहरीले जनाएको छ । बजारका बाँकी रहेका घर तथा पसलसम्म फैलिन नदिनेगरी आगो निभाउने कार्य भइरहेको र जङ्गल क्षेत्रमा पसेको आगो भने नियन्त्रणबाहिर रहेको छ । वन जङ्गलको क्षेत्र ठूलो भएको र जङ्गल नजिक घरहरु भएकाले गाउँबस्तीसम्म आगलागीले क्षति हुनसक्ने सम्भावना प्रवल रहेको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुका वडाध्यक्ष लाक्पातेम्बा शेर्पाले बताउनुभयो ।
उता आगालागीको कारण खुलिनसकेको पनि प्रनाउ राणाले जानकारी दिनुभयो । दोभान बजारका घर तथा संरचनाहरु अधिकांश काठ र जस्तापाताको प्रयोगबाट बनाइएकाले आगो सुरु भएपछि सहज रुपमा फैलिएको उहाँको भनाइ छ ।(गोरखापत्र)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ