245946375_260131579241663_4154936626639052013_n

किसानहरुले यसपाली धान भित्याउन नपाउदै सोमबार राती परेको पानीले धान खेत पानीले जलमग्न भएको छ।

आइतबार देखि परेको अविरल बर्षाका कारण कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई ठूलो नोक्सानी पुर्‍याएको छ । अहिले पनि पानी निरन्तर परिरहेका कारण किसानहरूले कम भिजेका धानलाई भिज्नबाट बचाउन लागी परेका छन् । अहिले सम्म धान बालीमा कुनै रोग र अन्य कारणले समस्या नभएपनि अहिले भित्याउँन ठिक परेको धान पुरै पानीले भिजेपछि किसान लाई बर्ष भरी कसरी खाध्ययनको जोहो गर्ने भन्ने चिन्ता छ । कैलालीमा मात्रै ७० हजार हेक्टरमा धानखेती हुदै आएको छ ।

कैलाली धानखेतीका लागि पकेट क्षेत्र रहेको भएपनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पुर्‍याए पछि यति वेला किसान सवै भन्दा बढी चिन्तामा छन् । आइतबार साझ आएको हावाहुरी र त्यस पछि बाट निरन्तर परिरहेको बर्षाका कारण धान बालीमा नोक्सान पुगेको हो । बर्षाले अधिकाशं किसानको धानबालीमा निकै क्षती पुगेको भन्दै किसानहरुले सरकारसंग राहतको माग गरेका छन् ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ की किसान सरिता चौधरीले काटेर ठिक्क पारेको धान पानीले भिजाएपछि निकै क्षती पुगेको बताइन् । मेरो त २० कट्ठा मात्रै धान थियो उनले भनिन् ‘मेरै दाजुभाई छिमेकीहरुले बिघौँ जमिनमा धान लगाउनुभएको थियो धान काटेर दशैँ मनाउनमा सबै किसान रहे तर दशैँ लगत्तै पानीले दशा लगाइदियो, थोरै हुनेलाई त धेरै चिन्ता भएन तर यही धान बेचेर परिवार पाल्ने, छोराछोरी पढाउने किसानको अवस्था के हुने हो सोच्नुस त ?’

यी किसान निकै मर्कामा परेका छन् तिनै तहका सरकारको चासो जानुपर्छ उनले भनिन् ‘भिजेको धानमा उसै क्षती भइसक्यो त्यो धान कुटेर खानै सकिन्न मिलमा लगे आधा रेटपनि दिन्न अब राहत तथा क्षतीपुर्ती सरकारले दिनै पर्छ ।’

धान भिजेकाका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मुल्यमा धान खरिद गर्नसक्ने भएकाले सरकारले ध्यान दिनु पर्ने किसानको माग छ । धनगढी उप महानगरपालिका ३ का किसान मदन चौधरीले भिजेको धान राख्न पनि नमिल्ने र मुल्य पनि नपाईने समस्या आउँने भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताका छन् ।

बर्षभरी खानका लागी लगाएको धान पानीले भिजाएपछि अब के खाने भन्ने चिन्तामा हामी छौँ उनले भने ‘धेरै धान त थिइन परिवारका लागी बर्षभरी खान पुग्थ्यो अब के पुग्छ काटेर सबै खेतमै सुकाउन राखेको थिए एउटापनि भित्र्याउन पाएनौँ सबै पानीले सखाप पार्‍यो केही दाना निकाल्न सकिन्छकी भनेर भिजैकैपनि शुरक्षित ठाउँमा राख्दैछौ ।’

कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको भएपनि अहिले सम्म किसानले आधा धान पनि भित्र्याउन पाएका छैनन् । बेमौसी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमि आउने कृषी ज्ञान केन्द्र कैलालीको अनुमान छ । अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको भएपनि यो वर्ष समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको थियो, तर काटिसकेको धानमा परेको पानीले उत्पादनमा कमी आउने दावी गरिएको छ ।

कृषी ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज सर्माले उत्पादनमा निकै कमि आउने बताए । बर्षातमा राम्रो पानी परेका कारण धान राम्रो उत्पादन हुने अपेक्षा गरेका थियौँ सर्माले भने ‘अन्तमा पानीले बर्बाद पारिदियो अहिलेसम्म क्षतीको पुरै तथ्याकं त आएको छैन तर ५० प्रतिशत जती धान काट्न बाँकी रहेको हामीले अनुमान गरेका छौँ ।’

हामी फिल्डमा अनुगमनमा पनि जान्छौँ स्थानिय तहसंग पनि समन्वय गरेर तथ्याकं निकाल्छौँ र प्रदेश सरकारको कोषमा रहेको राहत कोषबाट क्षतीपुर्ती उपलब्ध गराउँछौँ ।’

अहिले पनि पानी निरन्तर परिरहेका कारण किसानहरूले कम भिजेका धानलाई भिज्नबाट बचाउन किसानहरुलाई आग्रह गरिएको छ । किसानहरूले ७० देखि ८० प्रतिशत सम्म धान काटिसकेकोले त्यो धानलाई बचाएर मात्र अरु धान काट्न समेत कृषी ज्ञान केन्द्रले आग्रह गरेको छ ।

1 सोचेको “धान भित्याउन नपाउदै सोमबार राती परेको पानीले धान खेत पानीले जलमग्न

  1. २०७८ साल असोज महिनाको अन्तिम दिन ३१ गते र कार्तिक १ गते परेको अबिरल बर्षाको कारणले किसानहरुले बर्षभरी मिहिनेत र परिश्रमले गरेको अन्नबालीहरु घरमा भित्र्याउन नपाउदै सम्पूर्ण धानबालीहरु खेतमै जलमग्न भएको छ। यो अविरल बर्षाको पानीले गर्दा धेरैजसोले काटेको धान खेत बाटै निहना समेत बगाएको छ भने एक ठाउँमा जम्मा गरेको वा सैंका लगाएको सम्पूर्ण धान पानीले जलमग्न भएको छ । अब यो धान सडे्र गलेर बर्बाद हुन्छ । केहि हदसम्म बचे पनि २/३ दिनमा नै डाँठमै उम्रेर पलाउँछ । खेतबारीमा उत्पादन भएको अन्नबालीबाट नै बर्ष भरी आफ्नो परिवारको पालन पोषण गर्ने तथा बालबालिकाहरुलाई पढाउने सम्पूर्ण किसानहरुले अब के खाने के लाउने बच्चालाई कसरी शिक्षा दिने भनेर सम्पूर्ण किसानहरुलाई यो अविरल बर्षाको पानीले चिन्तित बनाएको छ। अब यस्को क्षतिपूर्तिको लागि स्थानीय सरकार वा केन्द्रीय सरकारले ब्यवस्था मिलाउन नितान्त जरुरी देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ