Screenshot_20220224-064704_Facebook

गत कार्तिक पहिलो साता सुदूरपश्चिममा आएको बाढीपहिरोमा आफन्त गुमाएका र घर क्षति भएका परिवारले प्रदेश सरकारले घोषणा गरेको राहत अझै पाएका छैनन्। सरकारले राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिहरुको खातामा पठाइसके पनि वितरण भने भएको छैन। प्रदेशको विपद्सम्बन्धी कार्यविधि अनुसार मृतकका परिवारले प्रदेश सरकारबाट एक लाख र घर पूर्णरुपमा क्षति भएका परिवारले ५० हजार रुपैयाँ राहत पाउनु पर्ने हो। त्यसका लागि गत मंसिरमै रकम पनि निकासा भइसकेको छ। तर, दोहोरो राहत वितरण गर्न नपाइने व्यवस्थाले पीडित परिवार प्रदेशले घोषणा गरेको राहत पाउनबाट बञ्चित भएका छन्।      संघीय सरकारले पीडितलाई राहत वितरण गरिसकेकोले दोहोरो पर्ने भन्दै जिल्लास्थित विपद् व्यवस्थापन समितिहरुले प्रदेशको राहत वितरण नगरेका हुन्। प्रदेश सरकारले भने संघको निकायले कानुनी जटिलताका नाममा प्रदेशको राहत वितरणमा उदासिनता देखाएको आरोप लगाएको छ। सुदूरपश्चिम सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले विपद् व्यवस्थापन समितिले वितरण गर्न नमान्दा प्रदेशले पीडितलाई राहत दिन नसकेको बताइन्। ‘पैसा पठाइसक्यौँ तर, कानुनी व्यवधान देखाएर जिल्लाले पीडितलाई वितरण गरिदिएनन् ,’ मन्त्री जोशीले भनिन्, ‘विपद् व्यवस्थापन समितिहरुको उदासिनताका कारण पीडितले प्रदेशको राहत पाउन सकेका छैनन्।’ विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रहने प्रावधान छ। दोहोरो पर्ने गरी राहत वितरण गर्न नपाइने संघीय ऐनमा टेकेर जिल्लाले राहत वितरण गर्न नमानेको उनले बताइन्। खर्च भएन राहतको २५ करोड बाढीपहिरोले सुदूरपश्चिममा जनधनको ठूलो क्षति गरेपछि प्रदेश सरकारले राहतका लागि २५ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो। त्यसमध्ये प्रदेशका नौवटै जिल्लामा गरी करिब साढे दुई करोड रुपैयाँ निकासा भइसकेको छ। सबैभन्दा बढी मानवीय क्षति भएको बझाङमा ३५ लाख र डोटीमा ३० लाख रकम निकासा भएको छ। आन्तरिक मामिला मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, बाजुरा, डडेल्धुरा, बैतडी र अछाममा जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई २५/२५ लाखका दरले त्यतिबेलै निकासा दिइएको थियो। उक्त रकम खर्च नभएर जिल्ला विपद व्यवस्थापन समितिको खातामा थन्किएको छ। पठाएको रकम खर्च नभएकोले पीडितलाई छुट्याएको थप रकम पनि निकासा हुन नसकेको मन्त्री जोशीले बताइन्। जिल्लामा मातहतको निकाय नहुँदा संघको प्रशासन कार्यालय अन्तर्गत विपद् समितिमार्फत् राहत वितरण गर्न खोजेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।       गत कार्तिक पहिलो साता अविरल वर्षासँगैको बाढीपहिरोमा परेर सुदूरपश्चिममा ३८ जनाले ज्यान गुमाएका थिए। प्रहरीको तथ्यांकअनुसार २३ जना बेपत्ता छन्। सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको थियो। बझाङमा पहिरोमा पुरिएर १९ जना बेपत्ता भएका थिए। मृतकका परिवारलाई संघीय सरकारले दुई लाख रुपैयाँ राहत वितरण गरेको थियो। एउटै परिवारमा विपद्बाट दुई जनाभन्दा बढीको मृत्यु भएको अवस्थामा मृतकको संख्याअनुसार थप एक लाख रुपैयाँ वितरण गरिएको छ। बेपत्ता भएकाहरुलाई पनि मृतक मानेर राहत वितरण गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ