भुवन चौधरी दाङ
हामी सानो छदा, गर्मीको समयमा साँझपख गाँउभरीका केटाहरु नुहाउन भनेर गाँउको पुर्बतर्फ रहेको गुलरी घट्वामा (जरुवामा) जाने गर्दथ्यौं । खुला धारा भएकाले केटीहरु लाज लाग्च भनेर प्राय आउदैनथे । गुलरी जरुवाको उत्तर तिर ठुलो एेलानी डाँडो थियो (आजभोली मास्सीसक्यो)। नुहाउनु अगाडी त्यही डाँडोमा हामी ग्याँडा (फुट्बल) खेल्थ्यौं । त्यसबेला हाम्रो गाँउको नजिक बजार थिएन । जसले गर्दा हाम्रो पासमा रेडिमेड फुट्बल हुदैनथ्यो । हामीले पुरानो मोजामा कपडा, पराल, कपास आदि भरेर फुट्बल बनाउथ्यौं जसलाई हामी ग्याँडा भन्थ्यौं। हामी मोजा फुट्बल खेल्थ्यौं । हामी म्वाजा ग्याँडा खेल्थ्यौं । हामी सबै एकै गाँउका भए पनि फुट्बल खेल्नलाई दुई समुहमा हुनै पर्थ्यो ।
प्राय:जसो बिजोडा संख्यामा हुने भएकाले हामी मध्यको कुनै एक जनालाई मुसरकट्वाको रुपमा भाग लिएर खेल्नै पर्ने हुन्थ्यो (मुसरकट्वा भनेको आधा समय एउटा टिमबाट खेल्ने र आधा समय अर्को टिमबाट खेल्ने हो )। हाम्रो गाँउमा चरणविर नामका एकजना दाजु थिए । स्वभाबैले उनि गर्मिल्वा थिए (यता पनि ठिक्क उता पनि ठिक्क ) । प्राय उनैको भागमा पर्थ्यो मुसरकट्वा खेल्ने अवसर । उनि सधै डिफेन्समा खेल्न रुचाउथे, डिफेन्समै खेल्थे । खेल्दै जाँदा, खेल्दै जाँदा जानेर हो कि नजानेर हो आफ्नो गोलपोस्टतिर आउन लागेको ग्याँडा रोक्नु/ फर्काउनुको सट्टा बिपक्षी खेलाडीलाई पो पास दिन्थे, जसले गर्दा उनको आफ्नै टिमले गोल खान्थ्यो । खेल्दै जाँदा खेल्दै जाँदा आफु खेलेको टिम हार्ने हार्ने जस्तो ठानेपछी फेरी अर्को टिममा मिसिएर खेल्थे (मुसरकट्वा न हुन) । अर्को टिमवाट खेल्दा पनि उनको त्यही खेल्ने शैली दोहरिन्थ्यो ।
शुरु शुरुमा त उनकै कारणले गर्दा आफै गोल खानु परेको छ भन्ने कुरा दुबै टिमका खेलाडीहरुलाई थाहा थिएन । लामो समयसम्म खेलिरहदा दुबै टिमलाई महसुस भयो कि यो मुसरकट्वा (चरणविर दाई) भन्ने पात्रले गर्दा नै गोल खाइदो रहेछ । जब यो मुसरकट्वाको भुमिका फुट्बल गेममा उचित छैन भन्ने कुरा सबैले बुझे, त्यतिवेलादेखी चरणविर दाईको पद धरापमा पर्यो । चरणविर दाई ग्याँडा (फुट्बल) खेलको मैदानबाट बाहिरीनु पर्ने भयो । उहाँ दर्शकमा परिणत हुनु भो । आजभोली हाम्रो गाँउमा हुने फुट्बल खेलमा मुसरकट्वा हुने नियम नै छैन ।