धनगढी, २४ वैशाख । कैलालीको बसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटानको कार्य शुक्रबारदेखि सुरु भएको छ । कैलारी गाउँपालिकाको बैजपुरदेखि बसन्ता सव डिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएको हो ।
बढीमा १० दिनमा सो कार्य सम्पन्न गरेर राजमार्ग निर्माणको काम थाल्ने हुलाकी राजमार्ग आयोजना इन्जिनीयर पदम मडैले बताए ।वनक्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटरमा भने कालोपत्रे बाटो बनिसकेको छ । विक्रम सम्वत २०७३ मा ठेक्का भए पनि वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो ।गएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा रहेको एक सय वटा रुख हटाउन आवश्यक रहेको आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ । तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीले निर्माणको ठेक्का पाएको छ ।

कैलारी गाउँपालिकाको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ। यसका लागि २०७३ सालमा नै ठेक्का भएको थियो। तर २ किलोमिटर सडकमा काम भने अगाडि बढ्न सकेको थिएन। त्यस्तै, कैलालीमा सन २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो। तर एक दशक पूरा भइसके पनि निर्माण कार्यले पूर्णता पाउन सकेको थिएन