20210723_104633

हसुलिया, २६ सावन । स्थानीयले जोखिम मोलेर नदी वारपार गरिरहँदा कान्द्रा नदीमा पुल निर्माणको काम भने दशकदेखि अलपत्र छ । हुलाकी राजमार्गअन्तर्गत भजनी–५, लालबोझी र वडा नम्बर ३ ठेकी जोड्न कान्द्रामा पुल निर्माणका लागि ३१ जेठ २०६८ मै सम्झौता भएको थियो । तेस्रो पटक थपिएको अवधि सकिदा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभी पुलका चार वटा स्पानमध्ये दुई वटाको काममात्र सकेको छ ।

एक सय मिटर लामो र ७.२ मिटर चौडा रहेको यो पुलको लागत चार करोड ४३ लाख रुपैयाँ हो । पुल बन्न सुरु हुँदा नदी पार गर्दा भोग्नु पर्ने दुखका दिन जाने भए भनेर खुशी भएका स्थानीय निर्माणमा भएको ढिलासुस्तीले निराश र आक्रोशित छन् । ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चाँसो नदेखाएकोमा उनीहरुको आक्रोश छ ।वडाध्यक्ष बुढाले पुल निर्माण भए नदी पारी दुई वडा दर्जनौँ बस्तीका बासिन्दालाई राहत पुग्ने बताए ।

पुल बनेमा स्थानीयबाहेक राजमार्गमा हिँड्ने सयौँले राहत पाउने उनले बताए । ‘बर्खाका तीन महिना नदी तर्न स्थानीयले निकै जोखिम मोल्नुपर्छ । पुल बनेको भए यो बाध्यता हट्ने थियो ।’ बुढाले भने, ‘सय मिटर लामो पुल १० वर्षसम्म बनेन, अझै कहिले बन्ने हो एकीन छैन ।’ कान्द्रा नदीमा पुल नभएकै कारण धनगढी–टीकापुर–नेपालगञ्जसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन । 

‘डुङ्गाको यात्रा जोखिमपूर्णनै हो । कतिबेला के पो हुन्छ भन्ने डरैडरले तर्नुपर्छ ।’ भजनी– ५ का वडाध्यक्ष केशवबहादुर बुढाले भने । पुल नहुँदा नदी पारीका दुई वडाका करिब दुई हजार दुई सय घरधुरीलाई सबैभन्दा बढी समस्या रहेको उनले बताए । 
डुङ्गाको सहारामा नदी तर्दाको जोखिम त छँदैछ, नदी तर्दा पैसा तिर्नुपर्ने बाध्यता पनि छ । लालबोझीको दुई ठाउँमा डुङ्गा चल्छ । एक ठाउँमा नदी तारेको पैसा उठाउन नगरपालिकाले ठेक्का लगाएको छ । अर्को ठाउँमा स्थानीयले डुङ्गा चलाउने गर्छन् ।
डुङ्गामा एक पटक नदी तरेको दश रुपैयाँ र मोटरसाइकलसहित भए ३० रुपैयाँ शुल्क तोकिएको छ । ठेकेदारले अझ बढी शुल्क लिने गरेका स्थानीयले बताएका छन् । बर्खा सकिएपछि भने नदीमा पानीको सतह घट्ने भएकाले ठेकेदारले सानो काठको पुल राख्छन् । काठेपुलबाट नदी तरेको पनि ठेकेदारले पैसा असुल्छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ