धनगढी,, २५ मंसिर । कैलालीको गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामा ‘सुदूरपश्चिम राजधानी कप २०७८ फुटबल प्रतियोगिता’ हुने भएको छ ।
अत्तरिया रहेको पिएफएम स्पोट्स क्लबको आयोजनामा आगामी पुस ५ गतेदेखि १० गते सम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
यस बर्ष पुरुष र महिला गरी दुवै तर्फका खेलहरु खेलाइने पिएफएम स्पोट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
४७ लाख ६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको पुरुष तर्फ विजेता हुने टिमलाई ५ लाख र उप विजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्रदान गरिने पुरुष तर्फका खेल संयोजक रविन्द्र राज भण्डारीले जानकारी दिए ।
यस्तै महिला तर्फका विजेता टिमले १ लाख ५० हजार र उप विजेता हुने टिमले ७५ हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने उनले बताए । यस्तै दुवै तर्फ विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।
सम्पूर्ण खेलहरु गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा हुने संयोजक भण्डारीले बताए ।
प्रतियोगितामा सहभागि हुनका लागि कुनै उमेर समूह र क्षेत्र नतोकिएको उनले बताए । उक्त प्रतियोगितामा अत्तरिया, धनगढी, कञ्चनपुर, बुटबल लगाएतका ठाउँवाट गरि पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने पक्कापक्की भएको आयोजकले जनाएको छ ।