मसुरिया, १४ फागुन । कैलालीको गौरीगंगा नपा –९ मा काठेपुल हटाउने काम अन्तिम तिर पुगेको छ । वडाको रजिया गाउँमा ओलि सरको घर नजिक कल्भर्ट निर्माण योजनाको शिलान्यास गरीएसँगै वडामा काठका पुल विस्थापित हुने अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् ।
१३ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको कल्भर्टको शिलान्यास गर्दै वडा अध्यक्ष हरिप्रसाद तिवारीले वडा भित्र रहेका ठुला ५ वटा र ससाना ८ वटा काठेपुल हटाएर पक्की ठुला पुल, कल्भट तथा ह्युम पाईपका संरचना निर्माण गरिएको जानकारी दिएका छन् । अब १ वटा ठुलो योजनाको पुल साथै झोलुङ्गे पुल बनाउन बाकी रहेको अध्यक्ष तिवारी बताउछन् ।
आफुहरुको कार्यकालमा टोल बस्ती र गाउँका जनताको माग अनुसारका योजना निर्माणलाई प्राथमिकता दिदै वडाका सबै खोला नालाको मुख्य बाटोमा ठुला गाडी सहजै हिड्न मिल्ने पुल, कल्र्भट र फराकिलो बाटो बनाउने अभियान संचालन गरेको वडा सदस्य प्रेमबहादुर ताडीले बताए ।
वडा भित्र ५ किलोमिटर कालोपत्रे सडक निर्माण भैसकेको छ भने चालू योजनामा करिब ४ किलो बाटो कालोपत्रे सडक बन्ने क्रममा रहेको छ । वर्षायाममा हिलाम्मे भई हिड्न असहज हुने मुख्य बाटा तथा सहायक बाटाहरु ग्राबेल गरि सकिएको वडा सदस्य ताडीले बताएका छन् ।
वर्षेनी वडाबाट योजना माग गर्न टोल बस्तिमा पठाउने योजना माग फारममा स्थानीयको माग अनुसारको योजनालाई आबश्यकताको आधारमा महत्त्व दिएर वडाबाट जनप्रतिनिधिले विकासका मुख्य पुर्वाधार निर्माणलाई छनोट गरेर कार्यान्वयनमा ल्याउदा स्थानीय सर्वसाधारण जनतामा खुसियाली छाएको रजियाका अगुवा समाजसेवी महासिङ धामीले बताए ।
जनताको मुख्य चाहाना सहज बाटोघाटोको सुविधा र सहज सुलभ स्वास्थ्य सेवा भएको भन्दै धामीले भने वडाबाट जनचाहना अनुसारको काम भैरहेको बताएका थिए ।