
दार्चुला । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले एकलौटी तटबन्ध निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको सोमबार बसेको बैठकमा बोल्दै बडूले सीमा क्षेत्रमा संरचना निर्माण गर्दा दुबैपक्षको सहमति हुनुपर्नेमा भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै भारतको ध्यानाकर्षण गराएका हुन
बडूले दार्चुलाको महाकाली गाउँपालिका ४ र ५ नम्बर वडामा नेपाली भूमि मिचेर तटबन्ध बनाइरहेको बताए । ‘२०७० सालमा धेरै ठूलो बाढी महाकाली नदीमा आयो । त्यसले दुवैतिरको सीमा क्षेत्रमा ठूलो क्षति भएको छ । महाकाली नगरपालिका- ४ र ५ नम्बर वडामा सरकारी कार्यालय पनि थिए । त्यो कार्यालयसहितको भू(भाग नदीको धार परिवर्तन हुँदा भारततिर गएको अवस्था हो । र, अन्य कुनै ठाउँमा भारतको जमिन हाम्रो ठाउँमा पुगेको अवस्था पनि थियो,’ उनले भने ।
भारतले द्रुत गतिमा निर्माण अघि बढाइरहेको छ’ उनले भने ‘यसलाई तत्काल रोक्न म परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, भूमी व्यवस्था मन्त्रालय र ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराउँछु,।’तटबन्ध निर्माण गर्दा भारतले नेपालसँग कुनै समन्वयसमेत नगरेकाले विवाद भएको उनले बताए । ‘यो बाढी आइसकेपछि तटबन्ध निर्माण गर्दा समन्वय हुन नसकेको भन्ने देखिन्छ । अहिले त्यो तटबन्धका कारण धेरै ठूलो जमिन पारी गइसकेको छ । भारतले नदीलाई नेपालतिर फर्काउने गरी तटबन्धको काम थालेपछि जनस्तरमा पनि विरोध भयो,’ बडूले भने । यसबारेमा सरकारले गम्भीरतापूर्वक नलिए परिस्थिति बिग्रिने उनले बताए ।