
गोदाबरी, ७ चैत । कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा निर्माण हुने थारु सङ्ग्रहालयको शनिबार शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले एक कार्यक्रमकाबीच सङ्ग्रहालयको शिलान्यास गरिन । थारु समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सो ठाउँमा सङ्ग्रहालय निर्माण गर्न लागिएको हो ।
सङ्ग्रहालयको शिलान्यास गर्दै प्रदेश सभा सदस्य चौधरीले सबै जातजातिको संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताइन् । उनले आफूले सबै जातजातिको संस्कृति जगेर्नाका लागि सहयोग गर्दै आएको उल्लेख गरिन्

थारु सङ्ग्रहालय निर्माणले थारु समुदायको संस्कृति संरक्षणमा सहयोग पुग्ने उल्लेख गर्दै चौधरीले थारु समुदायको मौलिकतानुसार नै सङ्ग्रहालय भवन बन्नु पर्ने बताइन् । ‘यदि, मौलिकतामा आधारित भएर संरचना बनेन भने सङ्ग्रहालय बनाउनुको औचित्य रहँदैन’, उनले भनिन् । प्रेदश सभा सदस्य चौधरीको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ लागतमा सो सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । समितिका अध्यक्ष भीम चौधरीले सङ्ग्रहालय निर्माणले थारु समुदायको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । ‘हाम्रो चालचलन, लवाईखवाई भेषभूषा तीव्र रुपमा हराउँदै गइरहेको छ’, उनले भने । ‘सङ्ग्रहालय निर्माण गरेर हामी त्यस्ता चिजको संरक्षणको प्रयास गर्नेछौं ।’
थारु सङ्ग्रहालय घर थारु समुदायको मौलिकतामा आधारित हुनु पर्ने जोड दिइएको छ । यसैगरी, हरैयामा थारु सङ्ग्रहालय बनेमा सो क्षेत्रका थारु समुदायलाई साँस्कृतिक सम्मान मिल्ने बताइएको छ । सङ्ग्रहालय बन्नु थारु समुदायका लागि अत्यन्त खुशीको विषय रहेको थारु कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष माधव चौधरीले बताए ।
‘यहाँ सङ्ग्रहालय बन्नु भनेको थारु समुदायलाई साँस्कृतिक सम्मान मिल्नु हो’, उनले भने । ‘हामी अहिले थारु संस्कृतिबारे बुझन दाङ जाने गरेका छौं । कमसेकम त्यहाँका मान्छे पनि यताका संस्कृति बुझ्न कैलाली आउने गरी सङ्ग्रहालय बनाउनु पर्दछ ।’ उनले सङ्ग्रहालय थारु समुदायको परम्परागत घर अनुसार नै हुनु पर्ने बताए ।
यसैगरी, वडा अध्यक्ष हेमराज ओझाले धर्म, संस्कृति जोगाउन आवश्यक रहेको उल्लेख गर्दै सङ्ग्रहालय निर्माण हुन थालेपछि धेरै खुशी लागेको बताए । ‘सङ्ग्रहालय निर्माणका लागि वडामा पत्र पुग्दाखेरी नै म अत्यन्त खुशी भएको थिए’, उनले भने । ‘हाम्रो वडामा थारु संग्रहालय बन्नु सम्पूर्ण वडावासीको लागि खुशीको कुरो हो ।’
सो अवसरमा समाजसेवी दम्बबहादुर बुढा, दानबहादुर शाह, हरैयाका स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।