1616286749517.2021-03-21-06-18-47
Advertisements

धनगढी, ८ चैत। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी यहाँको प्रमुख व्यापारिक केन्द्र पनि हो । राजधानी भएकाले चहलपहल बढेको छ । प्रदेशकै प्रमुख सहर भएकाले पनि यहाँ जनसंख्याको चाप दिनप्रतिदिन बढ्दो छ । बसाइ सरी आउने र अन्य कामको शिलशिलामा आउनेको संख्या दिनानुदिन बढीरहेको छ । सवारी साधनहरु पनि थपिदैछन् ।

जनसंख्या र सवारी साधनको बढ्दो चापले धनगढीमा सवारी जामको समस्या देखिन थालेको छ । धनगढीमा हिजोआज ट्राफिक जाम हुने गरेको छ । सवारी संख्या बढ्दा बजार क्षेत्रमा सहज रुपमा ओहोरदोहोर गर्न कठिनाइ हुन थालेको छ । सवारी साधनको चाप बढी भएका बेला व्यस्त चोकहरुमा जाम हुँदा सर्वसाधारणको सास्ती बढ्दो छ । 

बजारमा सवारी साधनको चाप बढ्दा पैदल यात्रीलाई पनि समस्या भएको छ । सवारी साधन र जनसंख्याको चाप बढ्दो छ तर त्योअनुुसार सडकको अवस्थामा सुधार हुन सकेको छैन । बरु सडकहरु अतिक्रमण हुन थालेका छन् । सरोकारवाला निकायले नै साविकको भन्दा साँघुरा सडक बनाउन थालेका छन् ।

यसले वर्तमानमै समस्या देखिएको धनगढीमा भविष्यमा गम्भीर समस्या निम्त्याउने निश्चित छ । सवारी साधनको चाप बढे पनि यहाँका मुख्य सडकहरु नै साँघुरा हुँदा जनताले सास्ती भोग्दै आएका छन् । साँघुरो सडक, त्यसैमा भएका खाल्डाखुल्डीले समते जाम बढ्दै गएको छ । साँघुरा सडकमा सवारी चाप बढी हुँदा यसले दुर्घटनाको जोखिमसमेत उत्तीकै बढेको छ । 

क्षेत्रीय सहरी विकास आयोजनाले बनाइरहेका सडकहरु अहिले चौडाइ घटाएर कालोपत्रे गरिदैछन् । नगरपालिकाको लापरबाहीले दातृ निकायबाट बन्न लागेका सडक चौडाइ कम कायम गरेर बनाउँदा भविष्यमा समस्या हुने भए पनि उपमहानगरले त्यतातिर ध्यान दिएको छैन । उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन नमान्दा सडकको क्षेत्राधिकारभन्दा कमलाई कायम गरेर कालोपत्रे गरिदैछ ।

अहिलेनै ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको धनगढीमा भविष्यमा यो सडकले धान्न सक्दैन । चौडाइ घटाएर कालोपत्रे गर्ने उपमहानगरको निर्णयले भविष्यमा गम्भीर समस्या ल्याउने निश्चित छ । सडक अतिक्रमण हटाएर चौडा बनाउनका लागि उपमहानगरपालिकालाई दवाव दिन जरुरी छ । अर्कोतर्फ धनगढीको अस्तव्यस्त ट्राफिक व्यवस्थापनमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।(पश्चिम टुडेबात)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ