काठमाडौँ, चैत ११ । सरकारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा अोलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा.विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताउनुभयो । नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको उहाँले बताउनुभयो ।
यसलाई पाँच हजार मेट्रिक टन पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । अहिले धुलो दूधको प्रयोग मिठाई पसल, डेरी, चकलेट तथा बिस्कुट उद्योगमा मात्र भइरहेको छ । यसको प्रयोग आम उपभोक्तामा गएको छैन । सहसचिव निर्मलले आम उपभोक्तासमक्ष पनि धुलो दूध पु¥याउने तयारी भइरहेको बताउनुभयो । पाँच हजार मेट्रिक टन उत्पादन भयो भने त्यसले आम उपभोक्तालाई पनि पुग्ने उहाँले दाबी गर्नुभयो । अहिले यसको आयातमा पूरै रोक लगाएको छ ।
अगामी आर्थिक वर्षमै पाँच हजार मेट्रिक टन धुलो दूध (एसएमपी) पु¥याउने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । बटर
(घिउ) १२ सय मेट्रिक टन उत्पादन हुन्छ त्यति नै खपत हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । ब्रेड तथा अन्य कुरामा प्रयोग हुने बटर थोरै मात्रामा आयात हुन्छ तर घिउलाई चाहिने बटर नेपालमै उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।
फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालसँग तीन हजार ४५० मेट्रिक टन धुलो दूध र एक हजार ८६० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानसँग एक हजार पचास मेट्रिक टन धुलो दूध र पाँच सय ५० मेट्रिक टन बटर मौज्दात रहेको छ भने निजी क्षेत्रसँग दुई हजार ४०० मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात रहेको छ ।
दूधको उत्पादन भए पनि अहिले कोरोनाका कारण त्यसको खपत कम भएको हुनाले बाँकी रहेको दूधलाई एसएमपी र बटर बनाएर राख्ने गरेको छ । सहसचिव निर्मलका अनुसार दूधको उत्पादन दिनदिनै बढ्दै गइरहेको छ र त्यही हिसाबले एसएमपी र बटरको उत्पादनमा पनि वृद्धि हुने भएकाले निर्यात हुने अवस्था आउने बताउनुभयो ।
नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ । त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु रहेको छ । बाँकी अन्य पशुपन्छीको मासु हुने गरेको छ । नेपालमा कुखुरा, खसी, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुन्छ । यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको कृषि मन्त्रालयले जनाएको छ । वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेका छन् । विभागको तथ्याङ्कअनुसार नेपालमा दैनिक १० लाख केजी कुखुराको मासु खपत हुन्छ ।
नेपाल अण्डामा आत्मनिर्भर मात्र होइन चाहिनेभन्दा बढी उत्पादन भइरहेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा एक अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । त्यसमध्ये प्रतिव्यक्ति वार्षिक रूपमा न्युनतम ४८ वटा खानुपर्छ तर नेपालमा प्रतिव्यक्ति ५४ वटा अण्डा पुगिरहेको छ । सहसचिव निर्मलका अनुसार प्रतिव्यक्ति १०० गोटा अण्डा पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
छुट्टै लोगो
सरकारले दूध ढुवानी गर्ने गाडीलाई निर्वाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ । सो लोगोको उद्घाटन पनि चैत १२ गते गर्ने भएको छ । सो लोगो कार्यान्वयनमा आएपछि दूध ढुवानी गर्ने गाडीलाई निर्वाध रूपमा चल्न दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यस्तो लोगो पाएका दूध ढुवानी गर्ने साधनलाई एम्बुलेन्सको जस्तै कसैले रोक्न सक्दैन ।
बोर्डका कार्यकारी निर्देशक यादवले दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएको कारणले बिनाकारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने गरेको र त्यसले क्षति हुने गरेको बताउनुभयो । गोरखापत्रबाट