– कृष्ण विश्वकर्मा ” कमरेड सतिसाल”
भरतपुर-११, चितवन, हाल : युएई
माफ गर्नुस्
गोपाल योञ्जन दाइ !
———
तपाईंले भनेको टोपी
न छ कैलाशको शीर जस्तो
न छ तराईको समथल जस्तो ।
यो टोपीले
मधेशका भुइँ टाउकाहरूलाई
कहिल्यै आफ्नै माटोका टाउकाहरू ,ठान्दै ठानेन ।
यो टोपीले
सिङ्गै आधा धर्तीका टाउकाहरूलाई
कहिल्यै यिनीहरू पनि हकदार हुन् ,ठान्दै ठानेन ।
यो टोपीले
मधेशलाई अराष्ट्रिय बनाएको साचो हो
यो टोपीले
आधा धर्तीलाई अराष्ट्रिय बनाएको पनि साचो हो ।
गोपाल दाइ !
कतै एक गिलास खोयाबिर्के सुरमा पो लेखी गाउनु भो कि !
नत्र त भाले सत्ताको नमिठो कुहिगन्धे हस्को त आएकै हुँदो हो !!
गोपाल दाइ !
किनारका भुइँहरूले त
यो टोपी परिहिने तरिका पनि निर्देशित थियो !
कहाँ पाउथे र किनारका अछुत भुइँहरूले
कैलाशको शीर जस्तै ठाडो पारेर लगाउने छुट !
गोपाल दाइ !
यो टोपी मेरो थिएन
यो टोपी मेरो हुँदै होइन
यो त मेरा दरसन्तानलाई
एक तन्त्रीय शासन र शासकले
बलजफ्ती टाउकोमा थुपारिदिएको काउसो थिएछ ।
मलाई अझै पनि यो टोपीमा
एक तन्त्रीय शासनको मृत लासको गन्ध आउँछ
एक भाषा/एक भेष/एक संस्कृतिको मैलो गन्हाउँछ ।
म त यो टोपीमा
-चुच्चो भाले नाकको अहंकार मात्रै देख्छु
श्मशान पुगेको व्यवस्थाको अवशेष मात्रै देख्छु ।
गोपाल दाइ !
सत्ता र शक्तिको बलले
बलजफ्ती पहिर्याई दिएको यो टोपी
राष्ट्रिय टोपी हुँदै होइन ।
बरू राष्ट्रिय काउसो हो ।
माफ गर्नुस् गोपाल दाइ !
मेरो बाजेलाई जबर्जस्ती परिर्याई दिएको यो पुरानो टोपी
आज मैले सन्दूकबाट झिकेर
कोचेर त्यसमा थाङ्नाभुत्ताहरू बनाएको छु भकुण्डो
गोपाल दाइ हेर्नुस् त !
यतिखेर टोपी नै नपहिरिएर
गाउँका अराष्ट्रिय नानीबाबुहरू
कति मजाले खेल्दैछन् भकुण्डो ।
*******