IMG20220424143426

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुर मुक्त कमैया बस्तीका अग्नी पीडित मुक्त कमैया परिवारलाई तत्कालका लागि केही राहत सामग्री पठाइएको छ ।
कैलारी गाउँपालिकाको कार्यालयले झुलससहित तत्कालका लागि औषधि, सुख्खा खाना, प्रति परिवारलाई एक÷दुई छाक हुने गरी चामल पठाइएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । ‘केही दिनलाई पुग्ने गरी चामल सबै परिवारलाई सोमबारसम्म उपलब्ध गराउँछौं’, उनले भने । आइतबार भएको आगलागीबाट ६० भन्दा बढी घर जलेर नष्ट हुनुका साथै खाद्यान्न, सम्पत्ती जलेर नष्ट भएको छ ।
प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रहेको त्रिपाल अग्नी पीडित मुक्त कमैयाका लागि माग गरिएको अध्यक्ष चौधरीले बताए । यस्तै, नेपाल रेडक्रस पनि गैरखाद्य सामग्री लिएर आगलागी भएको बस्तीमा जाँदैछ । रेडक्रससंग रहेको भाँडाकुँडा, मेट्टेस लगायतका सामग्री लिएर बस्तीका लागि हिडेको रेडक्रस कैलालीका चेतन खड्काले जानकारी दिए । उनले राति नै भए पनि प्रभावितहरुलाई आवश्यक सामग्री दिइने बताए ।
यता वडा नम्बर ७ रामपुरका स्थानीयहरुले धान, गेहुँ र नगद संकलन गरि अग्नी पीडितलाई सहयोग गरेका हुन् । रापुरका भलमन्सा रामलाल चौधरीको नेतृत्वमा स्थानीयले उक्त खाद्यान्न लगायत नगद संकलन गरि सहयोग गरेका हुन् ।
भलमन्सा चौधरीले १५ क्वीन्टल गहुँ, ५ क्वीन्टल चामल, ७० केजी नून, आलु, खाने तेल र नगद ३ हजार रुपिया विपतपुरका भलमन्सा हिँगुराम चौधरीलाई हस्तान्तरण गरेको बताए ।
आइतबार भएको भिषण आगलागीबाट विपतपुर पुरै वस्ती खरानी भएको छ । दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ