Chhabilal

–छविलाल कोपिला
जब घण्टाघरले
समयको अंक ठोक्छ
तब मात्र मैले
समयको गति चाल पाउँछु ।

घडीको सूई
दिन–रात, महिना, गते र बार सधैं दोहोरिने प्रक्रिया हो ।

भित्तामा पात्रो झुन्ड्याइयो
पोहोर पनि र परार पनि
र, यसपाली पनि टाँगियो उसैगरि
र भनियो नयाँ बर्षको नयाँ पात्रो ।

त्यसो त
पोहोरको पात्रो पनि नयाँ भनियो
परारको पनि नयाँ नै भनियो
यसपालीको पात्रो त नयाँ हुने नै भयो
तर, म देखिरहेछु
आगत र बिगतका सबै पात्रोहरूका पात्रहरू
उहीँ पुरानै छन् ।

हामीले समय बदलियो भन्यौं
युग फेरियो पनि भन्यौं
तर,
घण्टाघरले हरदम भनिरहेछ कि
सिंहदरबार खुलेयाम देश लुटिरहेछ
र, हामी रमितेहरू बेखबर रमिता हेरिरहेछौं ।

रंग फेरिए होलान् समयको
तर, समय फेरिएको अनुभूति छैन
किन कि रात हिजो पनि थियो आज पनि छ
दिन हिजो पनि थियो, आज पनि छ
महिना, बार, गते हिजो जस्तै आज पनि छन्
सब सब उहीँ भएपछि
नयाँ र पुरानो म कसरी छुट्याउँ ?

हामी सँग केही भ्रमहरू जरुर छन्
चप्पलहरू दरबार छिरेपछि जुत्ता भएर फर्किन्छन्
झुपडीहरू दरबार छिरेपछि महल भएर ठडिन्छन्
यो क्रम हिजो पनि थियो
यो आज पनि छ ।
बस् ! सम्झिनुस्
यहाँ रंग फेरिएको हो
युग फेरिएको होइन ।

भित्ते–पात्रोका अंक तालिका झै
मेरो देशको पात्र तालिका पनि उस्तै लाग्छ
किन कि शासन फेरिन्छ
तर, शासक फेरिदैनन्,
उहीँ पात्र, उहीँ आचरण, उहीँ व्यवहार
यसरी हाम्रो भित्ताले हरेक बर्ष पात्रो फेर्छ
तर, पात्र फेर्दैन
घण्टाघर अझै जाग्राम छ
र, ठोक्छ घण्टा डङ–डङ
हामी समय फेरियो भन्छौं
समय गतिशील छ भन्छौं
तर, समय सूचक
उहीँ पुरानो चक्रमा घुमिरहेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ