Screenshot_2026-05-23-20-00-30-302_com.facebook.katana-edit

काठमाडौं। देशका अधिकांश भूभागमा पछिल्ला दिन तापक्रम निरन्तर बढिरहेको छ। विशेषगरी पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी महसुस गरिएको छ भने कतिपय स्थानमा बेलाबखत वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राजधानी काठमाडौंमा पनि गर्मी बढ्दो क्रममा छ। शनिबार (जेठ ९) काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन गरिएको छ। अघिल्लो दिन शुक्रबार यो तापक्रम ३० डिग्री थियो भने बिहीबार २८.८ डिग्री सेल्सियस रहेको थियो।

महाशाखाका अनुसार काठमाडौंको इतिहासमै सबैभन्दा बढी तापक्रम ३६.६ डिग्री सेल्सियस हो, जुन सन् १९८९ मे ७ मा रेकर्ड गरिएको थियो।

यसैबीच, शनिबार सार्वजनिक गरिएको देशका २१ स्थानको तापक्रम विवरणमा नेपालगन्ज सबैभन्दा तातो स्थान बनेको छ। यहाँ अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस पुगेको छ। शुक्रबार नेपालगन्जमा ३८.८ डिग्री तथा बिहीबार ४१.५ डिग्री मापन गरिएको थियो।

त्यस्तै भैरहवामा ३९.८, धनगढीमा ३९.६, दिपायलमा ३९.२, सिमरामा ३७.७, घोराहीमा ३६.४ र जनकपुरमा ३६.१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको महाशाखाले जनाएको छ।

नेपालमा हालसम्मकै उच्च तापक्रम भने सन् १९९५ जुन ५ मा धनगढीमा मापन गरिएको ४६.४ डिग्री सेल्सियस हो।

महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी तीन दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो।

हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव सक्रिय रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ