बाँके। घर भत्काइयो, बस्ती हटाइयो र वैकल्पिक बसोबासको खोजीमा विस्थापित भएका सुकुम्बासी परिवारहरू अन्ततः फेरि पुरानै ठाउँमा फर्किन बाध्य भएका छन्।
कोहलपुर–११ शान्तिनगरमा नगरपालिकाले केही समयअघि डोजर चलाएर घरटहरा भत्काएपछि विस्थापित परिवारहरू अन्यत्र डेरा लिएर बस्दै आएका थिए। तर घरभाडा तिर्न नसक्ने अवस्था आएपछि उनीहरू डोजर चलेकै स्थानमा फर्किएर त्रिपाल टाँगेर बस्न थालेका छन्।
सरकारले स्थायी बसोबासको व्यवस्था नगरेको र अस्थायी आवासको समेत स्पष्ट विकल्प नहुँदा आफूहरू यस्तो अवस्थामा पुगेको विस्थापित परिवारहरूको गुनासो छ। उनीहरूको दैनिकी अहिले त्रिपालमुनि बित्न थालेको छ।
घर भत्किएपछि सुरक्षित छानो खोज्दै हिँडेका परिवारहरू फेरि त्यही भग्नावशेषनजिक फर्किनुपर्ने अवस्था आउनुले सुकुम्बासी व्यवस्थापनको चुनौती झनै गम्भीर बन्ने देखिएको छ। समयमै सरोकार वालाको ध्यानकर्षण हुन जरुरी देखिएकाे छ। साभार स्मार्टपाटी