हसुलिया, कैलाली — कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरी मोहना नदीमा डुबेर बेपत्ता भएको एक दिनपछि मृत अवस्थामा फेला परेका छन्।
शनिबार बिहान खेतमा पानी तान्ने बोरिङको पाइप लैजान मोहना नदी पार गर्ने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि दिनभर खोजी कार्य सञ्चालन गरिए पनि उनको अवस्था पत्ता लागेको थिएन।
आइतबार डुबेको स्थानबाट करिब तीन किलोमिटर तल हौसलपुर क्षेत्रमा उनको शव फेला परेको हो। सीमावर्ती भारतीय गाउँ गोलबोझियाका स्थानीयले नदीमा शव बगिरहेको देखेपछि जानकारी गराएका थिए। त्यसपछि बीओपी भुइयाँफाँटाबाट खटिएको सशस्त्र प्रहरीको टोली र स्थानीयवासीले हौसलपुरस्थित झोलुङ्गे पुल नजिकबाट शव फेला पारेका हुन्।
स्थानीयका अनुसार मोहना नदीको कटानका कारण केही बस्तीका खेतीयोग्य जमिन नदीपारि परेका छन्। ती क्षेत्रमा पुग्न स्थानीयले हरेक वर्ष जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको छ। गत वर्ष पनि सोही गाउँका एक व्यक्तिको खेत जाने क्रममा मोहना नदी तर्दै गर्दा डुबेर मृत्यु भएको थियो।
दोहोरिँदै आएका यस्ता घटनाले नदी पार गरेर खेती गर्न जाने स्थानीयको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ। स्थानीयले सुरक्षित आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।