काठमाडौं । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायु सक्रिय रहेकाले विशेषगरी मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्छ।
मधेस प्रदेशका केही भूभाग तथा तराईका केही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि अधिकांश स्थानमा बदली रहने तथा मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार आज साँझसम्म कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने भोलिदेखि पूर्वी तराईमा पनि वर्षा थप सक्रिय हुने देखिएको छ।
वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।