Screenshot_2026-08-23-06-15-35-799_com.facebook.katana-edit

**काठमाडौं ।** सिमरामा हत्या गरिएकी बालिका **गरिमा चौधरी**को परिवारसँग सरकारले तीनबुँदे सहमति गरेको छ।

गृह मन्त्रालयमा भएको वार्तापछि सरकार र बालिकाका अभिभावकबीच उक्त सहमति भएको हो। शनिबार गृहमन्त्री **सुधन गुरुङ**ले बालिकाका आमा-बुवालाई वार्ताका लागि सिमराबाट काठमाडौं बोलाएका थिए।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बालिकाका अभिभावकलाई कृषिमन्त्री **गीता चौधरी**ले गृह मन्त्रालय पुर्‍याएकी थिइन्। गृहमन्त्री गुरुङ, कानुनमन्त्री **सोबिता गौतम**, भौतिक पूर्वाधारमन्त्री **सुनिल लम्साल** तथा महिला, बालबालिका तथा सम्बन्धित मन्त्री **सीता वादी**को उपस्थितिमा परिवारसँग तीनबुँदे सहमति भएको जनाइएको छ।

सहमतिअनुसार जघन्य अपराधका घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा आवश्यक परिमार्जन गर्ने विषय समेटिएको छ। **विद्यमान कानुनमा रहेको सजायसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने** सहमति गरिएको छ।

त्यस्तै, बालिकाका अभिभावकको चाहनाअनुसार गरिमा चौधरीको **सालिक निर्माणका लागि स्थानीय तहसँग समन्वय गर्ने** जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले लिने उल्लेख छ।

सहमतिको अर्को महत्वपूर्ण बुँदामा परिवारले आफ्नो **रितिरिवाज र परम्पराअनुसार बालिका गरिमा चौधरीको अन्त्येष्टि गर्न पाउने** व्यवस्था गरिएको छ।

उक्त सहमतिमा मन्त्रीहरूका साथै बालिकाका बुवा **मनोजकुमार चौधरी** र आमा **मानमति चौधरी**ले हस्ताक्षर गरेका छन्।

सरकार र पीडित परिवारबीच भएको यो सहमतिले पीडित परिवारलाई न्याय दिलाउने प्रक्रिया अघि बढ्नुका साथै भविष्यमा यस्ता जघन्य अपराधविरुद्ध कानुनी व्यवस्था थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ