धनगढी, ९ साउन । थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी (काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन्। शनिबार धनगढीमा सम्पन्न संघको चौथो अधिवेशनले अध्यक्षसहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता चौधरी (सानु) कञ्चनपुर र राजुराज चौधरी (कैलाली), सहसचिवमा बालमोती चौधरी (कैलाली) तथा कोषाध्यक्षमा लक्ष्मी राना (कञ्चनपुर) चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा शेखर दहित (बर्दिया), कृष्ण चौधरी (बर्दिया), मनमति बखरिया (कैलाली) र कालुराम चौधरी (कैलाली) रहेका छन्।
संघको संरक्षकमा डा. कृष्णराज सर्वहारी तथा सल्लाहकार संयोजकमा छविलाल कोपिला चयन भएका छन्। सल्लाहकारहरूमा जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा र नरेश चौधरी रहेका छन्।
थारू लेखक संघ नेपाल थारू भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासका लागि क्रियाशील थारू साहित्यकार, लेखक र स्रष्टाहरूको साझा तथा छाता संस्था हो। संस्थाले स्थापनाकालदेखि नै देशका विभिन्न जिल्लामा पुगेर थारू साहित्यको विकास र प्रवर्द्धनका लागि विविध गतिविधि सञ्चालन गर्दै आएको छ।
संघले प्रत्येक वर्ष देशका फरक–फरक जिल्लामा राष्ट्रिय थारू साहित्य सम्मेलन आयोजना गर्दै आएको छ। उक्त सम्मेलन थारू स्रष्टाहरूबीच विचार आदान–प्रदान र साहित्यिक विमर्श गर्ने प्रमुख मञ्चका रूपमा स्थापित छ।
यसका साथै, थारू भाषा, साहित्य तथा मौलिक एवं सांस्कृतिक गीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई विभिन्न विधामा ‘थारू साहित्य पुरस्कार’ तथा सम्मान प्रदान गर्दै आएको संघले जनाएको छ।