काठमाडौं । सोमबार देशका विभिन्न प्रदेशमा मौसमको मिश्रित प्रभाव देखिने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा दिनभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ भने मधेश प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिनको प्रभाव रहने तथा तराई भू–भागमा तातो लहर चल्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
सोमबार राति पनि मौसमको यही क्रम कायम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
विभागका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।