तुलसी पण्डित
छोराको अनुहारमा एक्कासि नैरास्यता छायो ।
बाबाले रितिरिवाज धान्न भनेर आज असार पन्ध्रमा खेतमा हल गोरु पठाउनु भएको थियो । उता खेतमा बीउ उखेल्न पुगेका रोपार हाँस्दै फर्किए । बाउसे पनि आजको दिन फापेन भन्दै फर्किए । हिलो खेल्न आएका टाढाटढाका मानिसहरू पनि फर्कन थाले । पञ्चेबाजा बजाउने ग्रुप पनि आजको जेला मर्यो । अब भरे के खाएर छाक टार्ने हो भन्दै फर्किए ।
बाबाले यो सबै गतिविधि घरबाट हेरी रहनु भएको थियो । उहाँले सोच्नु भयो । छोराले सबैको चित्त दुखायो कि । नत्र अहिले सम्म सबै हिलोमा पस्थे । रोपाइँको तालमा असारे दोहोरी गीत घन्की सक्थ्यो । कति हिलो छ्यापाछ्याप गर्थे । बाजाको तालमा रोपाइँ हेर्न आउनेको घुइचो हुन्थ्यो । उहाँ हस्याङ्फसाङ् गर्दै खेतमा आइ पुग्नु भयो ।
“के भो छोरा किन सबै फर्किए ?”
“बाबा बिना योजना हजुरले गर्नु भएको कामको अर्थ भएन ।”
बाबु तिमीले यो के भन्न खोजेको हो । मैले रोपार हली बाउसे सबै पठाएको हो ।”
“एक पटक खेत तिर नजर लगाउनु त ?”
बाबाले आँखा तानेर हेर्नू भयो ।
“ए खेतमा पानी नै रहेनछ है ।”
“अनि पानी न भएको खेतमा सबै कुराको व्यवस्था गर्ने हो त ? सबैलाई दुख मात्र भो ।”
“बाबु अस्ति त पानी टन्न थियो । तर हिजोको घामले सबै सुकेछ ।”
“अनि कुलोको पानी लगाउनु पर्दैन त ?”
“बाबु नदी त छिमेकीको भयो कुलोमा पानी कहाँ आउनु ।”
राति सपनामा गाउँको मुखिया बा आएर भने ।
“खै ! तैले हाम्रो परम्परा र रितिरिवाज धानेको ?”
” मुखिया बा देशमा चतुर खेलाडीहरूको हैकम चल्दा सारा संस्कार र परम्परा धान्न निकै सकस भएको छ ।”