IMG_20260629_065524

बारबर्दिया, बर्दिया। बारबर्दिया नगरपालिका–६, शक्तिनगर निवासी ५९ वर्षीय श्यामलाल थारुको परिवार अहिले अत्यन्तै कष्टपूर्ण अवस्थामा जीवनयापन गर्न बाध्य भएको छ। परिवारमा उनकी ५३ वर्षीया श्रीमती रामजानकी थारु र ११ वर्षीया छोरी सुस्मिता थारु रहेका छन्।

जीर्ण अवस्थाको घरमा बस्दै आएको यो परिवार बर्खा नजिकिँदै जाँदा थप चिन्तित बनेको छ। आकाशमा बादल लाग्नासाथ र हावाहुरी चल्नासाथ उनीहरू त्रासमा बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। घरको छानो कमजोर भएकाले वर्षाको पानीबाट जोगिन कठिन हुने देखिएको छ।

यसैबीच, परिवारकी ११ वर्षीया सुस्मिताका लागि सुरक्षित तथा गोपनीय रूपमा शौच गर्न सक्ने आधारभूत सुविधा समेत नभएको अवस्था रहेको छ। यस्तो परिस्थितिले परिवारको दैनिक जीवन थप कष्टकर बन्दै गएको छ।

स्थानीयवासीले बारबर्दिया नगरपालिका, वडा नं. ६ कार्यालय तथा सम्बन्धित निकायलाई बर्खायाम सुरु हुनुअघि उक्त परिवारका लागि सुरक्षित आवास तथा आधारभूत आवश्यकताहरूको व्यवस्था गरिदिन आग्रह गरेका छन्।

साथै, समाजसेवी, सामाजिक अभियन्ता तथा सहयोगी मनहरूलाई पनि यस विपन्न परिवारको जीवनस्तर सुधारका लागि सहयोग गर्न अपिल गरिएको छ। सानो–सानो सहयोगले पनि परिवारलाई सुरक्षित आवास, सम्मानजनक जीवन र नयाँ आशा दिलाउन सक्ने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ