काठमाडौं : हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर नेपाल नजिक रहेको छ।
जसकाे प्रभावका कारण अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशसहित गण्डकी र लुम्बिनीका तराई भू-भागमा भने आंशिक बदली रहेको छ।
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, कोशी र बागमती प्रदेशका तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको सम्भावना रहेका स्थानमा सबै जना सुरक्षित रहन महाशाखाले अनुराेध गरेकाे छ ।