Screenshot_2026-06-29-06-46-42-743_com.nand.addtext-edit

मुना चौधरी
मेरो मनस्थिति बिगार्ने तिमी को हौ ?
छरछिमेक होइनौ
न म तिमीलाई चिन्छु
न तिमीले मलाई चिन्छौ
न मेरो तिमी हौ
न म तिम्रो हुँ
कुराकुरामा मलाई तल गिराउछौ
मलाई तल गिराउने तिमी मेरो को हौ ?

मेरो असहज परिस्थितिमा
मुखले ठिक पार्दै भन्छौ,
कठै ! धेरै दुःख पाइस्
तर, मनमनै सराप्दै भन्छौ
कर्मले ठगिएकी यो मान्छे
कहिले अगाडि नबढोस्
सधैँ ठक्कर खाइरहोस्
मेरो दुःखमा देखावटी दु:खी हुन्छौ
न मेरो आफन्त हौ
न छरछिमेक
मेरो दु:खमा खिस्स हाँस्ने तिमी को ?

मनमा रामराम वगलीमा छुरा
मेरो अगाडि मेरै प्रशंसा गर्छौ
तिम्रो प्रशंसा सुनेर म लोभिन्छु
तिमीलाई हितैसी मान्न थाल्छु
संसारको सबैभन्दा प्यारो मान्छे
तिमी नै लाग्न थाल्छौ
यति दिनसम्म,
म भ्रममा थिएँ
मलाई थाहा थिएन तिम्रो दुईटा रूप
मलाई भ्रमित पार्ने तिमी मेरो को ?

अगाडि मीठो बोल्छौ
मेरो पिठ्यु पछाडि मेरो कुरा काट्छौ
मलाई नङ्ग्याउँछौ
सबैको नजरमा गिराउँछौ
मलाई बेज्जत गर्छौ
अब भन,
मलाई निचा देखाउने तिमी मेरो को ?

तिमीलाई विश्वास गर्नु मेरो भ्रम थिय‍ो
म ठोकुवासाथ भन्छु,
तिमी मेरो शत्रु हौ
आज, अहिलेबाट,
म तिम्रो साथ छोड्दैछु
मलाई मानसिक रूपमा असर पुर्याउने
तिमी मेरो कट्टर शत्रु हौ
आजदेखि म तिमीसँग कुनै सम्बन्ध राख्दिनँ
म तिमीलाई चिन्दिनँ
न बाउतिरको
न आमातिरको
तिमी मेरो कोही पनि पर्दिनौ
बस्, कुरा सक्यो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ