काठमाडौं – काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एसएचए–२२७ उडानमा प्राविधिक समस्या देखिएपछि विमानलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार ककपिटमा धुवाँको संकेत (Smoke Indication) देखिएपछि पाइलटले सुरक्षा सावधानी अपनाउँदै विमानलाई तत्काल भैरहवामा अवतरण गराएका हुन्।
हाल सबै यात्रु सुरक्षित रहेका छन् र उनीहरू विमानस्थलमै छन्। एयरलाइन्सले काठमाडौंबाट अर्को जहाज पठाएर यात्रुलाई धनगढी पुर्याउने तयारी गरेको जनाएको छ।
घटनाको कारणबारे प्राविधिक टोलीले विस्तृत जाँच गरिरहेको छ। जाँचपछि मात्र समस्याको वास्तविक कारण खुल्ने अधिकारीहरूले बताएका छन्।