कैलाली, असार १५। कैलाली जिल्लाको कैलारी गाउँपालिका–७, बसन्तामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्र, धनगढी कैलालीको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीकाकुमारी चौधरी भूल, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी लगायत जनप्रतिनिधि, सरकारी कर्मचारी तथा ठूलो संख्यामा कृषकहरूको सहभागिता रहेको थियो।
महोत्सवका अवसरमा परम्परागत रोपाइँ, कृषिमैत्री प्रविधिको प्रदर्शन तथा कृषिमा आत्मनिर्भरताका विषयमा छलफल समेत गरिएको थियो। सहभागीहरूले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधि अपनाउनुपर्नेमा जोड दिएका थिए।
यसै अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कैलालीका तीन जना कृषकलाई भीमदत्त कृषक पुरस्कार–२०८३ प्रदान गरिएको छ। पुरस्कार प्राप्त गर्नेमा घोडाघोडी नगरपालिका–२ का माछापालक किसान मनोज खनाल, घोडाघोडी नगरपालिका–४ का धनबहादुर चौधरी तथा चुरे गाउँपालिका–१ की रिताकुमारी देउवा रहेका छन्।
उनीहरूलाई जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीकाकुमारी चौधरी भूलले जनही नगद २५ हजार रुपैयाँ, कदरपत्र तथा दोसल्ला प्रदान गर्दै सम्मान गरेकी थिइन्।
कार्यक्रममा कृषि उत्पादन वृद्धि, किसानको सम्मान तथा धान उत्पादनमा आत्मनिर्भर बन्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।