काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनी गतिविधि सक्रिय हुँदै गएसँगै मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ।
देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली भूभागमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अवस्था बनेको हो।
भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी, खोलानालाको सतह बढ्ने सम्भावना रहेको विभागले चेतावनी दिएको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी वायु लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा बढी सक्रिय भएको छ। उनले लुम्बिनी, पश्चिम चुरे र तराई क्षेत्रमा चट्याङको जोखिम पनि उच्च रहेको बताएका छन्।
उनका अनुसार कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा मापन भएको छ। लुम्बिनीको पश्चिमी क्षेत्रदेखि सुदूरपश्चिमसम्म आज रातिदेखि भोलि बिहानसम्म बढी वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्। यद्यपि मध्य मधेस क्षेत्रमा आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।