
सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन अाज शुक्रबारबाट सुरु हुँदैछ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा आयोजना हुन गइरहेको यो सम्मेलनलाई लुम्बिनी प्रदेशका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा थारु साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषय उठान गरिने आयोजकले जनाएको छ । थारु लेखक संघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा गर्न लागेको सम्मेलनमा थारु साहित्यको समकालीन अवस्था, थारु र गैरथारु साहित्यकारबीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक फिलिङ्गो, थारु हस्तकला, आख्यानमा थारु जीवन, थारु साहित्यमा युवालगायत विषयमा चर्चा हुने थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए ।
माघ २० गतेदेखि २२ गतेसम्म तीन दिन गर्न लागिएको सम्मेलनमा साहित्यकार डा. गोविन्द आचार्यद्वारा लिखित ‘दंगी र उर्वशी’ नामक पुस्तकको चर्चासमेत गरिने उनले बताए । उक्त सम्मेलनमा थारु समुदायमा विद्यमान सिकलसेल एनिमियाका बारेमा भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अध्यक्ष जीवराज चौधरीले सहजीकरण गर्ने कार्यतालिका छ ।
पश्चिम नेपालमा प्रचलित मटावा, बरघर, भल्मन्सा प्रथाले विकासमा पुर्याएको योगदानको समेत चर्चा हुने भएको छ । बरघर प्रथालाई संस्थागत गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएका एकराज चौधरीले बरघर प्रथाको वर्तमान र विगतका बारेमा औँल्याउने भएका छन् । ‘साहित्य सम्मलेन भनिए पनि हामीले थारु भाषा, साहित्य, संस्कृतिसँगै राजनीतिक, आर्थिक र सामाजिक मान्यता तथा विसंगतिको बारेमा समेत चर्चा गर्ने कार्यक्रम छ,’ उनले भने ।
देवतालाई रक्सी चढाउने र यसलाई थारु समुदायको पहिचानसँग जोड्दा पछिल्लो पुस्तामा नकारात्मक प्रभाव पर्ने भएकोले यसलाई साहित्यमार्फत कुरीतिको रुपमा चित्रण गर्न सुझाव दिइएको छ । ‘राजनीतिक, सांस्कृतिक र राजनीतिक मुद्दासँगै थारु समुदायमा देखिएको सिकलसेल एनिमिया सम्बन्धि जानकारी दिने कार्यतालिका छ,’ उनले भने ।
कार्यक्रममा चितवनका स्रष्टा मनोज चौधरी पनि सहभागी हुँदैछन् । ‘टुकी’ र ‘टुवरा’ उपन्यासका लेखक चौधरीसँग ‘आख्यानमा थारु जीवन’ विषयमा नवीन अभिलाषीले कुराकानी गर्नेछन् । चौधरीसँगै कोहलपुरका स्रष्टा महानन्द ढकाल पनि सोही सत्रमा सहभागी हुनेछन् । ढकालको हालै प्रकाशित ‘बुह्रान’ उपन्यासमा थारु जनजीवनलाई कथानक बनाइएको छ ।
सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा पूर्व मेचीदेखि महाकालीसम्मका तीन सयभन्दा बढी थारु सर्जक तथा अगुवाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
थारु लेखक संघले पहिलो सम्मेलन दाङको घोराहीमा गरेको थियो । दोस्रो कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयाताल, चौथो रुपन्देहीको मुर्गिया, पाँचौँ सुर्खेतको नयाँगाउँ र छैठौँ कञ्चनपुरमा राष्ट्रिय सम्मेलन भएको थियो । कोरोनाका कारण रोकिएको सम्मेलन यसपटक बाँकेका फत्तेपुरमा गर्न लागिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी दिए ।