माेती रत्न
म त यहीँ बस्तीमा जन्मिएँ,
यहीँ माटोमा खेल्दै,
यहीँ हुर्कँदै,
सुनौलो भविष्यका सपनाहरू सिँगार्दै
रङ्गीन आकांक्षाका पखेटा हाल्दै।
बा-आमाका अधुरा सपना पूरा गर्न,
देशको कर्णधार बन्ने अठोट बोकेर,
यी नाजुक हातहरू
बिस्तारै बलिया बन्दै थिए।
तातेताते हिँड्दै,
लड्दै, फेरि उठ्दै,
साना पाइला चाल्दै
जीवनको बाटो सिक्दै थिएँ।
यो पेट पाल्नकै लागि
बा हजुरकै शहरमा
सानो ठेलामा मकै पोल्दै,
चटपटे बेच्दै,
मेरो औषधि र मूलो जुटाउँदै—
दैनिक छाक टार्दै थियौँ हामी,
रातहरू पनि त्यसैगरी काट्दै थियौँ।
तर, बा हजुरलाई लाज लाग्यो
हामीलाई पेटीमा देख्दा।
हिजो त्यहीँबाट खेदिनु पर्यो हामीलाई।
हामी रोयौँ,
करायौँ,
तर कसैले सुनेन चीत्कार।
बाध्य भयौँ
ओत लाग्ने ठाउँ खोज्न।
नदीको किनारले अँगालो दियो,
प्रकृतिले सान्त्वना दियो।
बर्खायाम आयो,
बाढी आयो
मेरो लागि स्विमिङ पुल बन्यो,
मलाई पौडी खेल्न सिकायो।
तर फेरि, बा हजुर,
हामीलाई खोज्दै
टुप्लुक्कै आइपुग्नुभयो
हाम्रै बस्तीमा,
सेना, पुलिस,
हतियार बोकेका सिपाही,
र डोजर लिएर।
त्यो दृश्य देख्दा
मेरो सातो उड्यो,
आँखाबाट नदी बग्यो।
फेरि हारगुहार गर्यौँ,
तर दया देखिएन।
सुतिरहेको मलाई
पुलिसले च्याप्प समात्यो
अपराधीझैँ,
अनागरिकझैँ व्यवहार गर्यो,
मलाई बेघर बनायो।
अब कहाँ जाऊँ म?
कहाँ ओत लागूँ?
भन न, बा हजुर
के दोष थियो मेरो?
मलाई किन कतै ठाउँ दिइएन?
हाल- नेपालगञ्ज