FB_IMG_1777717770746

चित्रबहादुर चौधरी
एउटा बारी भ्याएर
अर्को बारी पसेको छोडुवा गोरु
ढल्कीमल्की जुरो हल्लाउँदै
आजभोलि सहर पसेको छ!

गाउँमा छँदा पराल खाँदो हो
गोब्रे गोठमा बास हुँदो हो
छेरौटी लाग्दा भाङ चपाउँदो हो
तर,
वाक्किएर दुर्गन्धित जीवनसित
सहर पसेर सहरिया बनेको छ!

सहरिया जीवन बेग्लै शानसौकात
हिजोको जुरे अचेल साँढे बनेको छ
उसको आङमा गोबर होइन अत्तर बसाउँछ
घाँसपात होइन पिज्जा र बर्गर रुचाउँछ
खोलाछेउका फोहरी गोठ देखिसहन्न
सहरको सुन्दरतामा दाग लाग्नै हुन्न!

उसको ‘गेटअप’ नै फेरिएको छ
कालो ज्यानमा कालै चस्मा सारै जँच्छ
ढोलकको ताल होइन र्‍याप मन पर्छ
झ्याप भएर आदेश दिन्छ
आफ्ना आज्ञाकारी साइँदुवाहरुलाई
तामेल गर्दै आदेश
एकैछिनमा भत्काइन्छन् गोठहरू
रुवाबासी चल्छ गन्दे गोठहरूमा!

सौन्दर्यको गलगाँड भत्किँदा गदगद हुन्छ
छानाको टिन बजारिँदा र्‍याप म्युजिक बज्छ
बाच्छा-बाच्छीको चीत्कार ‘वन्स मोर’ सुन्छ
फेरि अर्को आदेश जारी गर्छ
यसरी,
गोठहरू निर्बाध भत्किरहन्छन्
रोदन-क्रन्दन निरन्तर चलिरहन्छ
केही गाईगोरूले देहत्याग समेत गर्छन्
‘चेन स्मोकर’ साँढे चिलिम भरिरहन्छ
गोठमा आँसुको आहाल भरिइरन्हछ!

सातो खाईसकेपछि तीखे साइँदुवाहरुले
सुकिलो साँढेलाई प्रश्न गर्ने आँट कसैमा छैन
मोटो प्रश्न सोध्न सक्थे –
-हामीले पनि बाँच्न पाउनु पर्दैन?
-हाम्रो थातबास किन खोसियो?

तर, प्रतिवाद गर्न नसके पनि
मनमा पातलो प्रश्न अवश्य जाग्दो हो
-चिलिमको रङ कस्तो हुन्छ?
-चिलिममा भरिने गाँजाको रङ कस्तो हुन्छ?
-गाँजाको धुँवाको रङ कस्तो हुन्छ?
-चिलिम घोप्ट्याउँदा झर्ने खरानीको रङ कस्तो हुन्छ?
*** *** ***
२०८३ बैशाख १९
टीकापुर,कैलाली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ