दुर्जन कुमार चौधरी
हे सरकार बिन्ती छ
यो महामारीको बेलामा
जनताका लागि केहि सोचीदेउ
अप्ठ्यारो परेको बेलामा
एम्बुलेन्स पठाइदेउ
अस्पताल अस्पतालमा
बेडको व्यवस्था मिलाईदेउ
कहि आईसीयू त
कहि भेन्टिलेटर सञ्चालन गरिदेउ
अरु केहि गर्न नसके पनि
जनताको आत्मबल बढाइदेउ
हे सरकार बिन्ती छ
आफ्नो सत्ताको लालचभन्दा
जनताको पिडालाई हेरेर सोच
आफ्नो सत्ताको मोहभन्दा
पहिला जनतालाई जोगाउ
जनतालाई स्वस्थ बनाउ
अनि मात्र केहि हुनेछ
हे सरकार
केहि त गर
जनतालाई अकालमा मर्न नदेउ
छोराछोरीलाई दुःखमा पर्न नदेउ
कसैको आमाबुवा त
कसैको प्रियसी परलोक भैसके
यो संसार छोडी टाढा गैसके
अब जिवित जनताका लागि
अस्पतालमा छटपटाईरहेका
ती आमाबुवाका लागि
केहि त सोच
केहि त गर
यदि कसैको सोचले
कसैको काम गराईले
कसैको जिन्दगी बाँच्छ भने
सरकार किन मौन बस्नु
किन कसैको मुख ताकेर बस्नु
किन अरुलाई डाकेर बस्नु
पहिला आफै स्वविवेकले जनताको कल्याण गर
तब मात्र तिमी यो जनताका लागिवाहवाहीको पात्र बन्ने छौं
एक वर्ष बिति सक्यो तर पनि जनतालाई
एउटा बेडकोे व्यवस्था हुन सके छैन
अस्पतालको परिसरमा
नेताज्यूको जवाफमा
अक्सिजनको अभावमा जनता छट्पटाइ रहेका छन्
कालको पर्खाइमा बसेका छन
कोरोनाको कहरमा फसेका छन्
उनीहरुका लागि केहि गर
सरकार कमसेकम बाँच्नका लागि
रित्तिएको सिलिन्डरमा अक्सिजन भरिदेउ
बिरामीको आँखामा खुशयाली छरिदेउ
अस्पतालमा रेखदेख गर्ने धैरै नभए नि
एउटा डाक्टर पठाइदेउ
जति भए नि यो जुनी कटाइदेउ
हे सरकार बिन्ती छ
यदि केहि गर्न सक्दैनौ भने
चाँडै यमराजको काल पठाइदेउ
बरु म त्यहाँ सुरक्षित हुनेछु
यो अस्पतालको अभावमा रहनुभन्दा
अक्सिजनको अभावमा बाँच्नुभन्दा
अस्पतालको गेटमै छट्पटिनु भन्दा
म मृत्युलोकमा खुशी हुनेछु
नेताज्यूको मुख ताक्नुभन्दा
नेताज्यूको कुरामा लाग्नुभन्दा
म त्यसै निरास भइसकेको छु
यो सरकारको चाल देखेर
जनताको हालत सुनेर
म मौन बस्न सक्दिन सरकारको कर्टुत देखेर
तर पनि
म बिन्ती गर्छु
हे सरकार
जनताको पुकार सुनिदेउ
पिडाको चित्कार सुनिदेउ ।
(यो कविता उनीहरुमा समर्पित गरेको छु जो अस्पतालमा भर्ना हुन सकि रहेका छैनन्, अस्पतालको सेवा सुविधाबाट बञ्चित भएका छन् । विशेष उहाँहरुमा समर्पित)