image-1

“बुहारी आज आमाको मुख हेर्ने दिन हो केही मीठो चिज अथवा आमालाई मन पर्ने चिज लिएर जाऊ समयमै !”सासुआमाको यस्तो प्रेमवचन सुनेर म मनैदेखि प्रसन्न भएँ र भनें -“हस् आमा मेरो चिन्ता नलिनुस् ।अहिले दिदी(अमाजु) पनि आउनुहुन्छ भोकाउँदै । म मीठो मीठो खाना बनाएर छोडिदिन्छु अनि जाउँला ! आखिर कति नै टाढा छ र माइती घर ? दस मिनेटको त कुरो हो नि !” मेरो कुरा सुनेर बुढी सासुआमा मख्ख पर्नुभयो । खुशीले भरिएको त्यो चाउरी मुहार पनि चम्किलो देखिएको थियो। एकछिनमै दिदी आउनु भयो। “खाना पस्किएर आमा छोरी मिलेर खानुस् है ? म चाँडै फर्किउँला !” भन्दै बिदा भएर माइततिर लागें । बुवा आमालाई भेटेपछि जिस्किँदै लाइट बालेर आमालाई भनेँ -“आँ गर्नुस् त आमा मुख हेरम् !” आमाले त मुख नै खोल्नु भएन । उल्टै पछाडि हट्नुभयो । हेरेको त गाला पनि अलिअली सुनिएको रहेछ । के भयो आमा भनी सोध्दा उल्टै रुन पो थाल्नुभयो । म दङ्ग परेर बुवालाई सोधेँ । के भयो र बुवा आमालाई , बोल्नु पनि हुन्न नि ?” बुवाले गहभरी आँसु निकाल्दै भन्नुभयो -” छोरी हाम्रो घरमा त संस्कार तिमीलाई मात्र सिकाएका रहेछौं । हिजो बुहारीलाई आमाले कति नम्र भएर “भोलि जाउली नि बुहारी माइत । आधा घन्टाको बाटो त हो नि !आज चतुर्दशीमा के जान्छ्यौ र ?” भन्दै सम्झाएकी मात्र थिई तेरो दाइले “जे कुरामा पनि मेरी श्रीमतीलाई छेक्नी?” भन्दै मेरो देखादेखि मुड्कीले हिर्काएर ससुराली गयो । बल सकिएका हामी बोल्नै नहुने भयो ।”बुवाका कुरा सुनेर म मन थाम्न सकिन। त्यो दाइ र भाउजुले २ घन्टा अगाडि आमाको तस्बिर फेसबुकमा राखेर “दयाकी खानी मेरी आमालाई हेप्पी मदर्स डे ” भन्ने स्टाटस राखेको पोस्ट झलझली याद आयो । नारायणगढ, चितवन ।

रचना शर्मा

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ