धनगढी,१५ असार । कृषि उत्पादन वृद्धि गर्न राष्ट्रिय बिदा दिनुपर्ने नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले बताएका छन् । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा उनले धान रोप्न एवं कृषी कर्मका लागि सरकारले हिउदे र बर्खे दुवै सिजनमा ७-७ दिन गरी १४ दिनको राष्ट्रिय बिदा दिएर कृषी उत्पादनमा योगदान पर्याउनुपर्ने बताएका हुन् ।
यस्तै नेता महरले करिव एक खर्ब बराबरको कृषि आयात गर्ने नेपालमा कृषि अनुदानको समेत दुरुपयोग भईरहेको बताएका हुन् । कृषकहरुलाई मल, बिउविजनका साथै कृर्षी सामाग्रीहरुको पनि अभाव रहेको र कृषी सामाग्रीहरु महंगो भएर किसानहरु छटपटिरहेको उनले बताए ।
‘नेपाल कृषी प्रधान देश भएपनि कृषी गर्ने नागरिकका पाखुरा अपमानित भएको मैले देखेको छु।’ नेता महरले भने, ‘काम गर्ने अपमानित हुने र नगर्ने सम्मानित हुने जुन परम्परा छ यसलाई हटाउनुपर्छ ।’
अत्यावश्यक सेवामा संलग्न प्रहरी, चिकित्सक बाहेक प्रधानमन्त्री लगायत सबै नेताहरुले पनि कृषकलाई हौसला र प्रेरणा दिनका लागि कृषकसँगै रोपाईंमा सहभागि हुनुपर्ने उनको भनाई थियो। यसले नेपाली कृषीजन्य वस्तुको आयातमा कमी गर्ने र खाद्यान्नको उत्पादन पनि बढाउने नेता महरले बताए ।
कोभिड-१९ को महामारीको कारण आन्तरिक र वैदेशिक रोजगारीहरु अप्रत्याशित रुपमा गुमिरहेको अवस्थामा धान दिवसले नयाँ पुस्तालाई व्यवसायीक कृषिप्रति आकर्षक हुँदै आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने नेता महरको विश्वास छ ।