20210723_103049

धनगढी, १५ साउन । भजनी नगरपालिका– ५, पुलियापुरका हर्क कामी नाबालक ६ छोराछोरी र श्रीमतीसहित हुलाकी सडकछेउमा बस्न थालेको नौ दिन बितेको छ। गत ५ साउनमा कान्द्रा नदीमा आएको बाढीले घर डुबानमा परेपछि उनको परिवारको वास सडकमा छ।

बाढीले घरभित्र हिलाम्य हुँदा अहिले पनि बस्न सक्ने अवस्था छैन। सडकमा खाना बनाएर खान पनि समस्या भएको कामीले बताए। ‘घरभित्र हिलोले खुट्टा टेक्ने ठाउँ छैन। फेरि बाढी आउला भन्ने डरले पनि सडकमै बसेका छौँ,’ उनले दुःख सुनाए, ‘ठूलो परिवार छ, त्रिपालमुनि कोचिएर सुत्छौँ।’

कामीजस्तै घर डुबानमा परेपछि स्थानीय १३ दलित परिवार हुलाकी सडकछेउमा बसिरहेका छन्। नजिकै रहेको कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा पुलियापुरमा रहेका सुकुमबासी १४ परिवार विस्थापित भएका हुन्। एक परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ।

गत वर्ष बर्खायाममा बाढीबाट विस्थापित हुँदा नगरपालिका र दातृ निकायले दिएको त्रिपाल टाँगेर उनीहरू राजमार्गछेउमा बसेका हुन्। खान र बस्न समस्या भएको उनीहरूको गुनासो छ। विस्थापित मोहन टमटाले सडकमा बस्नुपर्दा बालबालिका र वृद्धवृद्धालाई झन् समस्या भएको बताए। पुनः बाढी आउने डरले पनि आफूहरू घर फर्कन नसकेको उनले बताए।

हुलाकी सडकनजिकै रहेको यो बस्तीका सबै घर कच्ची छन्। बाढीले कतिपयको अन्नपात पनि भिजाएको टमटाले बताए। ‘नदीको बाढी आउँदा बस्तीमा कम्मरसम्म डुबान भयो। बालबालिका र बुढापाकालाई ट्युबमाथि खटिया राखेर सडकमा ल्यायौँ,’ टमटाले भने, ‘खानबस्न समस्या छ। रातिको समयमा बाढी आए बिचल्ली होला भन्ने डरले सडकमै बसेका हौँ। घरभित्रको हिलो नसुकेकाले घर फर्कने अवस्था पनि छैन।’

पीडित मातादेवी विकले राहत र अन्य सहयोग कतैबाट नपाएको गुनासो गरिन्। स्थानीय जनप्रतिनिधि पनि आफूहरूको अवस्था बुझ्न नआएकोमा उनको गुनासो छ। ‘दिउँसो गर्मी हुन्छ। लामखुट्टे उस्तै छ। त्रिपालमुनि सुत्दा सर्पको डर लाग्छ,’ उनले भनिन्, ‘घरवास छोडेर जाने ठाउँ पनि छैन।’ नौ वर्षअघि त्यहाँ बस्न आएका सुकुमबासी उनीहरूको प्रतिपरिवार एक कठ्ठासम्म घरवास छ। बर्खामा अत्यधिक डुबान हुने भएकाले त्यहाँ बस्न आएका केही परिवार अन्यत्र जंगलको छेउछाउ सरेका छन्।

हरेक वर्ष डुबानको समस्या हुने भएकाले सुरक्षित स्थानमा सार्न बाढीपीडितले माग गर्दै आएका छन्। ‘कतै बस्ने ठाउँ देखाइदेउ भनेर नगरपालिकालाई भन्यौँ। तर, हाम्रो पीडा सुनुवाइ भए,’ मातादेवीले भनिन्, ‘बर्खामा सास्ती हुन्छ। डरैडरले बस्नुपर्छ।’

यस्तै कान्द्रा नदीमा आएका बाढीले कटान गर्दा भजनी– ५, लालबोझीमा दुई परिवार घरबारविहीन भएका छन्। कटानले घरवास बगाएपछि स्थानीय आशाराम चौधरी र गीता चौधरीको परिवार बिचल्लीमा परेका छन्। उनीहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्। नदी कटानले घर बगाउने अवस्था आएपछि स्थानीयको सहयोगमा उनीहरू आफैँले घर भत्काएका हुन्।

यहाँ एक दर्जनभन्दा बढी घर नदी कटानको जोखिममा छन्। कटान बढ्दै जाँदा सातवटा घरको आँगननजिकै नदी पुग्न थालेको छ। नदीमा ठूलो बाढी आए सबै घर बगाउने स्थानीय सत्तु चौधरीले बताए। बाढीको त्रासले हिजोआज आफूहरू राति निदाउन पाएको उनले बताए। ‘कतिवेला पो घर बग्छ भन्ने डर ,’ उनले भने, ‘घर बगे पनि आफ्नो ज्यान त जोगिएला भनेर राति नदीमा बाढीको सहत घटबढ भएको हेरिरहनुपर्छ।’

नजिकै रहेको ग्रोब्रे बजारमा १२ वटा पसल पनि जोखिममा छन्। ती सबै माटोले बनाइएका छाप्रा हुन्। पाँच दशकयता नदी कटानले करिब ७० वटा घर र कैयौँ बिघा जमिन बगाएको स्थानीय ७० वर्षीय जोखराम चौधरीले बताए। कटान गरेर नदी पहिलेको ठाउँबाट करिब सात सय मिटर दक्षिणतिर आएको उनले बताए।

वडा नम्बर ५ का अध्यक्ष केशबबहादुर बुढाले दुई परिवार विस्थापित भइसकेका र सातवटा घर तत्कालै कटान हुने जोखिममा रहेको बताए। वडा नम्बर ५ मा मात्रै मोहना र कान्द्रा नदी आसपासका १७ वटा टोल डुबान र कटानको उच्च जोखिममा रहेको उनले बताए।

दुई परिवार विस्थापित भएको र दर्जनबढी परिवार जोखिममा परेको ठाउँ नजिकै कान्द्रा नदीको बाढीले हुलाकी राजमार्ग पनि बगाएको छ। करिब ५० मिटर बाटो नदीले कटान गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए।
बाटो बगाएपछि त्यहाँ आवतजावत गर्न स्थानीयलाई समस्या भएको छ। नदीमा तटबन्ध बन्न नसक्दा त्यहाँ करिब पाँच सय मिटर सडक कालोपत्रे हुन सकेको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ