धनगढी, ३२ साउन । सुदूरपश्चिमको बाजुरा र अछाममा बाढी पहिरोको क्षति अवलोलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रयोग गरेको नेपाली सेनाको हेलिकोप्टरको भाडा एक वर्षसम्म पनि भुक्तानी गरेको छैन ।
मुख्यमन्त्री त्रिलोचन भट्ट, तत्कालिन आन्तरिक मामिला मन्त्री (हाल आर्थिक मामिला मन्त्री) प्रकाश बहादुर शाह, भौतिक पूर्बाधार मन्त्री दीर्घ सोडारी, सांसद अक्कल रावल सहितको टोली गतवर्ष भदौ १९ गते नेपाली सेनाको हेलिकोप्टर चार्टड गरी अछाम र बाजुरामा बाढी पहिरोले पु¥याएको क्षति अवलोकन गर्न गएका थिए ।
एक वर्षअघि उडेको हेलिकोप्टरको खर्च भुक्तानीका लागि नेपाली सेनाले ताकेता गरिरहेको छ । तर प्रदेश सरकारले हेलिकोप्टर चार्टड शुल्क २७ लाख रुपैया भने अहिलेसम्म भुक्तानी गरेको छैन ।मुख्यमन्त्री सहित सरकारका अधिकांश मन्त्रीहरुले शयर गरेको हेलिकोप्टरको खर्च आर्थिक मन्त्रालयले सहमती दिएपछि क्याविनेट मार्फत पास हुनु पर्ने प्राबधान छ ।
तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री शाह अहिले आर्थिक मामिला मन्त्री छन् । हेलिकोप्टर चार्टड पनि आन्तरिक मन्त्रालय मार्फत शाहले गरेका थिए । हेलिकोप्टरको रकम भुक्तानीका लागि नेपाली सेनाले आन्तरिक मन्त्रालयमा ताकेता गरिरहेको छ ।
आर्थिक मामिला मन्त्रालयबाट उक्त रकम भुक्तानीका लागि मन्त्री परिषदको बैठकमा सिफारिस नहुदाँ एक वर्षअघि चार्टड गरिएको हेलिकोप्टरको रकम भुक्तानी हुन नसकेको स्रोतले बतायो । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आफू भर्खरै मन्त्री नियुक्त भएको र उक्त विषय पुरानो भएको बताईन । उनले भनिन, ‘मैले पनि एक वर्षअघिको रकम भुक्तानी नभएको सुनेकी हुँ । किन अहिलेसम्म रकम भुक्तानी हुन सकेन, थाहा भएन ।’यो समाचार पश्चिम टुडेबाट लिएको हो ।