हसुलिया, ३२ साउन । कैलारी गाउँपालिकाको टोलीले आज डुबान प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।
कैलालीको कैलारी गाउँपालिका–७ स्थित भएको डुबानको सो टोलीले अनुगमन गरेको हो । कटैनी नदीमा आएको बाढी ओभरफ्लो भएर बड्का बसन्ता र छटकपुर बसन्ता गाउँमा डुबान भएको छ । एक सयभन्दा बढी घर डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित टोलीमा स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा र योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतका रहेका थिए ।
डुबान प्रभावित परिवारलाई कैलारी गाउँपालिकाको कार्यालयले फास्ट फुड सहयोग गरेको छ । चिउरा, बिस्कुट, चाउचाउ लगायतका सामग्री सहयोग गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए ।
कटैनी नदीमा बनेको काठेपुलसमेत सो टोलीले अनुगमन गरेको छ । बाढीले पुल बगाउने सम्भावना बढेको टोलीले जनाएको छ ।