received_234316705468658

सुशील बाेहरा
_________________________

यो शहर
लागु पदार्थ सेवन गर्छ
गुप्तांगमा‌ ट्याटु खोप्छ
प्राचीन गल्लीमा लुकेर हस्तमैथुन गर्छ !

यो शहर
सपनाको व्यापार गर्छ
गाउँले केटीहरु ओसार-पसार गर्छ !

यो शहर
रन्डी कोठीमा रात बिताउँछ
पवित्र नदीहरूमा वीर्य पखाल्छ !

यो शहर
चित्र बेच्छ
साहित्य बेच्छ
संस्कृति बेच्छ
र अध्यारो कोठामा बसेर पैसा गन्छ !

यो शहर
प्रोफेसरहरुलाई किन्छ
इन्जिनियरहरूलाई किन्छ
डाक्टरहरुलाई किन्छ
न्यायाधीशहरूलाई किन्छ !

यो शहर
हर समय सौदाबाजी गर्छ !

यो शहर
अपराधीहरूसँग साँठगाँठ गर्छ
भष्ट्रहरुसँग उठबस गर्छ !

यो शहर
अर्धनग्न जुलुसमा‌ मिसिन्छ
असभ्य नारा लगाउँछ
लोकतन्त्र एउटा मनोरोग हो भन्छ !

यो शहर
योजना आयोगको कार्यालयमा‌ जान्छ
सर्वत्र खाल्डो खन्ने प्रस्ताव पेश गर्छ !

यो शहर
पार्टी मुख्यालयहरुमा जान्छ
नेताहरुको बैठकमा जान्छ
विदेशी गुप्तचरहरुसँग गोप्य वार्ता गर्छ !

यो शहर
आफ्नै छातीमा डोजर चलाउँछ
आफ्नै सभ्यता मास्ने अभियान चलाउँछ !

यो शहर
डिप्रेशनको शिकार भएको छ !

यो शहर
सडकको कालोपत्रेबाट आफ्नो अनुहार उप्काएर ठेकेदारहरुको सुटकेसमा‌ टाँस्छ !

यो शहर
दिनभरि वेश्याहरुको पछि लाग्छ
साँझमा‌ थाकेर मन्दिरहरुको पेटीमा सुत्छ !

यो शहर
बेसुरमा हिँड्छ
बेसुरमा खान्छ
बेसुरमा मुत्छ
बेसुरमा हग्छ !

यो शहर
चेतनाच्युत भएको छ
भावनाच्युत भएको छ
संवेदनाच्युत भएको छ
स्मृतिच्युत भएको छ !

यो शहर
दिशाहीन भएको छ !

यो शहर
आफ्नै मौलिकता भत्काउँदै हिँड्न थालेको छ
आफ्नै पहिचान नष्ट गर्दै हिँड्न थालेको छ !

यो शहर
उग्रवादी चिन्तन बोकेर हिँड्न थालेको छ
विभाजनको अस्त्र बोकेर हिँड्न थालेको छ !

यो शहर
यो देशको शासक जस्तै
नग्न र मतिभ्रष्ट हुदैँ गएको छ !!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ