___सुशील बाेहरा_________________
सपनाहरुलाई चितामा जलाएर
रहरहरुको मलामी गएको दिनपछि
म साँच्चै आफ्नो नियन्त्रणमा छैन
तिमी भगवान बेच्छौँ – भगवानको मन्दिर बेच्छौँ
म शरिर बेच्छु – नाङ्गो तस्वीर बेच्छु
लेख्नै बिर्सिएको आफ्नो तकदिर बेच्छु !!
मेरो जात छैन
धर्म छैन
कुनै एक विशेष पुरुष छैन
दिन र रातको फरक अर्थ छैन
बस् ! फिक्स एउटा मुल्य छ !!
उत्तेजनालाई मथ्थर बनाउन
वासनाको स्खलन गर्न
मलाई नाङ्गो बनाउन
आतुर मन र –
लालायित तिम्रा हातहरुलाई
आकर्षक चाहिएन
कामुकता चाहिएन
केवल ! सम्भोग चाहियो
सन्तुष्टि चाहियो !!
एड्सले ग्रसित तिम्रो राजधानीमा
यत्रतत्र छरिएका – कुहिएका
फोहोरका डिब्बाहरुमा
गनाइरहेका यथार्थहरु
दर्शन – बिज्ञान
विचार – विकार
राजनीति – कण्डम
स्वतन्त्रता – नियम
निर्लज्जीत चेतनाहरु !!
सामुहिक बलत्कार
सामुहिक भ्रष्टाचार
के यही हो ?
मानव सामुहिकताको सार ?
माफ गर –
तिम्रो राजनीति भन्दा
मेरो बेश्यालय नियम अनुसार चल्छ !!
ए माल !
ए रण्डी !
ए बेश्या !
दिने गर्छौ –
घृणाका अनेक उपनामहरु
तर के तिमलाई थाहा छ ?
संसारकै सबैभन्दा क्षयग्रस्त
वेश्यालयमा जन्मिएको बच्चाले पनि
आमाकै कोख भर्छ
आमाकै स्तन चुस्छ !
कविहरूले लेखे जिवन संघर्ष हो
दार्शनिकहरुले लेखे जिवन रहस्य हो
भन्नेहरूले भने जिवन घामछाँया हो
ए कोही त बुझाईदेउ मलाई –
जिवन दुईथोपा आँसु हो कि
दुईथोपा विर्य ??