धनगढी, २९ मंसिर । धनगढीमा रहेको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) धनगढीबाट बाहिरिएको छ । म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।
एयरक्राफ्ट म्युजियम झन्डै डेढ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको थियो । तर सम्झौता अवधि सकिएपछि सङ्ग्रहालय सार्नुपर्ने अवस्था आएको उप्रेतीको भनाई छ ।
धनगढीमै जग्गा खोज्ने प्रयास रेको उप्रेतीले भने, ‘म्युजियम राख्नका लागि जग्गा खोज्न यहाँको स्थानीय तहलाई पटक पटक आग्रह गरे, तर पाउन सकेनौँ ।’
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले विगत ९ वर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा रहेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले करिव ७० लाख रुपैयाँमा सो फोकर जहाज खरिद गरेका थिए ।
छ महिना लगाएर तयार पारिएको सङ्ग्रहालय ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो ।
एयरक्राफ्ट म्युजियममा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका थिए ।