भजनी। कैलालीकाे भजनी नगरपालिका– ९, भुरुवाका छोटु राजी काठले आफैँले बनाएको घर भत्काएर गोठमा बस्न थालेको एक वर्ष भयो । गोठको आधा भागमा भित्ता छैन । चिसो बढेपछि हावा छेक्न गोठलाई वरिपरिबाट त्रिपालले छेकेका छन् । प्रदेश सरकारले नयाँ घर बनाइदिने भनेपछि गएको वर्ष पुसमा उनले आफ्नो दुईकोठे कच्ची घर भत्काए । गाईभैँसीलाई घरअगाडिको खुला चउरमा सारेर ६ जनाको उनको परिवार गोठमा स¥यो ।
तर, वर्ष दिन बित्यो पक्की घर बन्ने सुरसारै छैन । सरकारले बनाइदिने भनेको घर नबनेपछि राजीको परिवार यो ठन्डीमा गोठमा कष्ट सहेर बसिरहेको छ । ‘फाटेको त्रिपालले हावा छेक्दैन । गोठमा चिसोले रात काट्न मुस्किल हुन्छ,’ उनले भने, ‘घर बन्न लागेको देख्दा खुसी लाग्छ, तर ढिलो हुँदा हामीले निकै समस्या भोग्नुपरिरहेको छ ।’
छोटु मात्रै होइनन्, झुपडीमा बस्दै आएका भुरुवाकै बल्गु राजीको अवस्था पनि उस्तै छ । सरकारले पक्की घर बनाइदिने भएपछि फुरुंग भएका उनी घर बनाउन ढिलाइ हुँदा भने निकै समस्यामा छन् । बल्गुको परिवार पनि घर भत्काएर एक वर्षदेखि गोठमै बसिरहेको छ । हिउँदको कठ्यांग्रिँदो चिसोमा रात कसरी बिताउने भन्ने उनलाई चिन्ता छ । ‘दुःख सहेरै चुहिने गोठमा बर्खा बित्यो । पोहोरजस्तै यसपालिको चिसो हिउँद पनि गोठमै बस्नुपर्ने भयो,’ उनले भने ।
छोटु र बल्गुजस्तै भुरुवाको २५ विपन्न राजीपरिवार नयाँ घर पाउने आसमा पुराना घर भत्काएर गोठमा बसिरहेका छन् । घर निर्माणमा ढिलाइ हुन थालेपछि कतिपय परिवारले गोठवरिपरि काठको भित्ता बनाएका छन् । उनीहरू सबैले गत वर्ष पुसमा आफ्ना झुपडी भत्काएका थिए । माघदेखि बस्तीमा घर निर्माणको काम सुरु भयो, जग हालेपछि भने ठेकेदार फर्केर आएन । अहिले सबै घरको भित्ता त ठड्याइएको छ । तर, न झ्यालढोका छन्, न छाना राखिएका छन् । केही घरमा अहिले प्लस्टर गर्ने काम सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत घर बनाइदिने योजना ल्याएको थियो । सम्झौताअनुसार गत वर्ष आर्थिक वर्षमा नै घर निर्माण भइसक्नुपर्ने हो । ठेकेदारले लापरबाही गरिरहेकाले यस वर्ष पनि घर निर्माण सम्पन्न हुनेमा स्थानीय ढुक्क छैनन् । ‘६ महिनाभित्रै घर बनिसक्छ भनिएको थियो । नयाँ घर पाउने खुसीले पोहोर पुसको कठ्यांग्रिँदो चिसोमा भएको घर भत्काएर गोठमा स¥यौँ,’ आरम राजीले भने, ‘अहिलेसम्म गोठमै छौँ, नयाँ घर कहिले बन्छ थाहा छैन ।’याे समाचार नयाँ पत्रिकाबाट लिईएकाे हाे।