प्रकाश भट्ट, डडेल्धुराः हिमपातसँगै चिसो बढेपछि डडेल्धुराको अमरगढी नगरपालिकाले ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै पुस १४ गतेदेखि २० गतेसम्म बिदा दिइएको जनाएको छ।
नगरप्रमुख स्तरको निर्णय भएको र सामुदायिक र संस्थागत विद्यालय पनि बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। सदरमुकाम नजिककैका लेकमा हिमपात भएपछि अमरगढीमा चिसो बढेको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात
सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ । डडेल्धुरा सदरमुकाममा भने साँझ ७ बजेपछिबाट मात्रै पानी सँगै राती नै हिउँ पर्न सुरु भएको थियो । डडेल्धुरा सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ। डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।