हसुलिया, १५ फागुन । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलनको उद्घाटन पुर्व यूवा दस्तासहित मार्चपास सम्पन्न भएको छ ।
‘शान्ति सद्भाव न्याय र अधिकारको लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलन’ मा भएको मार्चपासको नेतृत्व थरुहट युवा मोर्चाका केन्द्रीय अध्यक्ष सीताराम थारुले गरेका थिए । हसुलिया बजारदेखि शुरु भएको मार्चपास सुर्मीनालाहुँदै कार्यक्रम स्थल पुगि समापन भएको थियो ।
मार्चपासमा कैलालीको कैलारी गाउँपालिकाका यूवाहरु थरुहट/थारुवान राष्ट्रिय मोर्चा लेखिएको फेटा सहित रातो ड्रेसमा उत्रिएका थिए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागिताका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ ।
टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र संविधानको धारा विभिन्न धारामा थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सिमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा गहन ढंगले छलफल गरिने केन्द्रीय प्रवक्ता मिनराज थारुले बताए ।