
धनगढी, फाल्गुन १५/ किसानहरूले खेतबारीबाट बाली, अनाज उत्पादन गर्छन्। एक सिजन उत्पादन गरेको अनाज उनीहरूले वर्षभरि पुर्याउनु पर्छ। अन्न, तथा कृषि उपजहरूलाई लामो समयसम्म सुरक्षित भण्डारण गरेर राख्न किसानहरूले विभिन्न उपाय अपनाएका हुन्छन्।
जस्तो चोयाका भकारी, विभिन्न तरिकाले झुन्ड्याएर राख्ने, बुइगल तथा बार्दलीहरूमा फिँजाएर राख्ने, विभिन्न खालका भाँडामा हालेर राख्ने आदि।
सुदूरपश्चिमको पहाडी समुदायमा बाँसबाट निर्माण गरिएका भाँडामा खाद्यान्न भण्डारण गर्ने गरिन्छ। कैलाली, कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायहरूको खाद्यान्न भण्डारण गर्ने तरिका भिन्न छ। उनीहरूले माटोबाट निर्मित डेंहरी ९भोकारी० मा खाद्यान्न भण्डारण गर्छन्।
थारु समुदाहरू धान खेती भण्डारण गर्ने समयमा नयाँ माटोका डेंहरी बनाउने गर्छन्। कार्तिकमा धान भित्र्याउने र मंसिरमा गुहँ बाली लगाउने काम हुन्छ। गहुँ बाली लगाई सकेपछि थारु समुदायमा माघी पर्वको तयारी र चहलपहल सुरु हुन्छ। माघी पर्व सकिन्नेबित्तिकै खाली रहेको सयमा उनीहरू डेंहरी बनाउने गर्छन्।
डेंहरी बनाउन चिम्टाइलो माटो, धानको पराल र गहुँको भुस प्रयोग गरिन्छ। थारुहरूको घरमा डेंहरी नहुँदा घरको शोभा समेत नहुने गरेको कैलारी गाउँपालिका–७ बसान्ताकी सुनिता चौधरी बताउँछिन्।
‘घरमा डेंहरी नभए यसको घरमा सम्पत्ति नै रहन्छ भन्ने गर्छन्’, सुनिताले भनिन्, ‘त्यसले गर्दा हरेकले माटोको भकारी बनाएका हुन्छन्।’
अन्नबाली राख्न यसरी माटोको भकारी बनाउने प्रचलन थारु समुदायमा पुर्खा देखिकै हो। टिनका भाँडामा धान राख्दा चिसोले बिग्रिन डर भएपनि डेंहरी मा कुनै त्यस्तो समस्या नहुने गरेको वसन्ताकै अर्की स्थानीय गौरी चौधरीको भनाइ छ।‘टिनको भाँडोमा खाद्यान्न राख्द एक वर्षपनि रहँदैन्’ गौरीले भनिन् ‘डेंहरीमा जति वर्षसम्म राख्दा पनि केही हुँदैन्।’
डेंहरीको साँस्कृतिक पक्ष
डेंहरी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको छ। डंगेरीको आफ्नै धार्मिक महत्व भएको र यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक रहेको गौरी बताउँछिन्।
डेंहरी खासगरी महिलाले बनाउने गर्दछन्। परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ।ग्रामीण क्षेत्रका अधिकांश घरमा बूढापाका महिलाले बनाएर राखेका माटाका भकारी लहरै राखेको देखिन्छ।
धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदै गएको छ। अर्का स्थानीय रामचरण चौधरीको भनाइ छ। डेंहरी धेरै प्रकारको हुने गरेको रामचरणले जानकारी दिए। उनका अनुसार जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली जस्ता प्रकार रहेका छन्।
पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ। यसले भान्छा र डिहुरार ९देउथान० छुट्टयाउने गर्दछ। अन्य डेंहरीको तुलनामा यो ठूलो हुन्छ।
यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ। पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन छ। पटाहा डेहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ।
त्यो किलामा झोरर्या ९झोली० राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धुप राखिएको हुन्छ।
डेंहरी विशेष गरी लाम्चो चारकुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ। कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ। यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ।
अन्यलाई आवश्यकता अनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ। यसमा विशेषगरी दैनिक आवश्यक पर्ने नुन, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ। डेंहरी अन्न भण्डारका लागि थारु समुदायको प्रमुख वस्तु हो।
जवरामा धानको भुस राख्ने गरिन्छ। ‘डेंहरी राखिएको छ भने टाढैबाट थारु समुदायको घर हो भन्ने ठम्याउन सकिन्छ। यो बनाउन जान्ने व्यक्ति थारु समुदायमा हराउँदै गएकाले अहिले थोरैका घरमा मात्रै अब डेंहरी भेटिने स्थानीय प्रेम चौधरी बताउछन्।(साभार:सुदूरपत्र)