–छविलाल कोपिला
तिम्रो शिश–महल भन्दा
मेरो झुपडी कैयौं स्वर्ग लाग्छ
किन कि,
तिम्रो विलासी कक्षमा सजाइएका
कृतिम सिताराहरु भन्दा
मेरो झुपडीको कोठा भित्रैबाट
ऊ छानोको भ्वाङ्ग चिहाएर देखिने
जून–तारा कैयौं सुन्दर छन्
जहाँबाट मैले सपना र जीवन तुन्छु
र मजाले त्यो स्वर्ग छुन सक्छु ।
म मेरो झुपडीप्रति विश्वस्त छु
र मेरो झपडीमा बस्ने
हरेक पशु–पन्छीहरु पनि विश्वस्त छन्
र इमानदार छन्
तर तिमी भने आफै सित पनि विश्वस्त छैनौ
तिमीले चार पर्खाल लगाएरपनि
चारैतिर सुरक्षा खटाएपनि
आफैभित्र पालेको त्रासले
आफूलाई सुरक्षित महसुस गर्न सक्दैनौ
किन कि तिम्रो घरभित्र बस्ने कुकुरहरु
तिमीप्रति इमान छैनन्
उनीहरु त भट्टी खाएर आउँछन्
र तिमीलाई प्रवेशद्वारमा सूचना टाँस गर्नु परेको छ
कुकुरदेखि सावधान !
मलाई थाहा छ
तिमी तिम्रै भगवानप्रति पनि विश्वास गर्दैनौ
र मनभित्र सँधै भय र त्रास बोकेर
देवालयभित्र बन्दी बनाएर राखेका छौ
किन कि,
भगवान तिम्रो होइन ।
जसले आफ्नो
रगत, पसिनाको सहवासबाट
यो सुन्दर भगवान जन्मायो
तिमीले उनैलाई
देवालयभित्र प्रवेशमा रोक लगाएका छौ
र तिम्रो सनातनी मानसिकताले
भगवान भेट्न आउनेसंग फिरौटी उठाइरहेछौ
तर तिमीलाई जस्तै
मलाई फिरौटी उठाउनु पर्दैन
तिमीले जस्तै मेरो प्रकृतिलाई
देवालभित्र बन्दी बनाई राख्नु पर्दैन
बस् !
म मेरो प्रकृतिप्रति विश्वास गर्छु
सम्मान गर्छु र श्रद्धा गर्छु
किन कि,
मैले टेकेको माटोले मलाई आश्रय दिएको छ ।
र हावा–पानीले मलाई जीवन दिएको छ ।
–लमही नगरपालिका–३ देउखुरी–दाङ