garbha2021-03-02-06-25-40

डोटी, १८ फागुन । डोटीमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेमध्ये ११ प्रतिशत उमेर नपुगी गर्भवती हुने गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्क अनुसार जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये एघार प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।

कानुनले विवाहको उमेर २० वर्षभन्दा माथि कायम गरेको भए पनि डोटीमा २० वर्ष नपुग्दै विवाह गर्ने तथा गर्भवती हुने क्रम नरोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

अघिल्ला वर्षहरुको तुलनामा उमेर नपुग्दै आमा बन्नेहरुको सङ्ख्या घट्दै गए पनि अझै पूर्ण रुपमा अन्त्य हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताए ।

उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत महिलाहरु २० वर्षभन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आर्थिक वर्ष २०७५/२०७६ मा १७ प्रतिशत र गएको आर्थिक वर्षमा ११ प्रतिशत महिलाहरु उमेर नपुग्दै आमा बनेका छन् ।

सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दा आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजंग कुँवरको भनाइ छ । कम उमेरमा आमा बन्दा डोटीका ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघर खस्ने समस्या पनि बढ्दै गएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ