विवेक र विजय आज पाँच वर्षपछि पहिलो चोटीभेट भए । विजय विदेसबाट फर्केको तीन दिन भयो । पुरानो जिग्री दोस्त विवेकलाई भेटेर विजयमा खुसीको सीमा नै छैन । खाजा खादै भलाकुसारी गर्न होटेल छिरे । दुवै ड्रिङ्स् गर्न थाले । नशाले हल्का रिजल्ट दिंदै जानथाल्यो। विजयले मौनता तोड्यो, ‘यार, विहे गरिस् कि नाई, विवक ?’
विवेकले मुन्टो हल्लाउँदै विहे गरेको संकेत गर्यो ।
‘सपना भाउजूको के छ त खबर ?’ विजय ।
‘मलाई के थाह !’ विवेक ।
‘कस्तो पागल कुरा गर्छ । विहे गरें भन्छ तर खबर थाह छैन भन्छ बा !’ विजय ।
‘तँ पो पागल भइस् । विहे गरें भनेपछि सपनासङ्गै मात्र हुन्छ । मूर्ख !’ विवेक ।
‘यार, तिमीहरुको त्यस्तो लभ छुट्यो, विहे गरिनस् !’ विजय ।
‘लभ गर्ने, मोज गर्ने र विहे गर्ने फरक कुरा हुन्, विजय । त कुरै बुझ्दैनस् यार । विहे भनेको त जिन्दगी काट्ने हो यार । विहे नहुँदै अोछ्यान बनेकी केटीसङ्ग कसले बिहे गर्छ भन त !’ विवेक बोल्यो ।
‘सपनाको भावना र शरीरसँग मजाले खेलिस् । अनि अहिले नालायक भई हैन । यो त सरासर अन्याय हो ।’ विजय ।
‘अन्याय सन्याय केही होइन । समयको माग थियो । समय अनुसार चल्ने न हो ।’ विवेकले स्पष्टीकरण दियो ।
नशाले फुल रिजल्ट दिएको थियो । विजयलाई विवेकको एउटा कुराले झट्का दियो । बिहे नहुँदै ओछ्यान भाकोसँग पनि कसले बिहे गर्छ ? जिब्रो लर्बराउँदै भन्यो, ‘यार विवेक ! बिहे अघि अोछ्यान भाको नभाको कसरी थाह पाउने ?’
विजयको जिज्ञासाले विवेकमा चार सय चालीस भोल्टको करेन्ट लाग्यो । हो यार, कसरी थाह पाउने ? मेरी श्रीमती भर्जिन थियो भन्ने के प्रमाण ? यस्तै यस्तै खुल्दुलीले मनभरि डेरा जमायो । खाइपिई पश्चात् घरतिर लागे ।
विवेक यो खुल्दुली मेट्न चाहन्थ्यो । घरमा श्रीमती पर्खिरहेकी थिइन् । श्रीमान आएपछि बेडरुममा गए । विवेकले घुमाउरो पाराले सोध्यो, ‘विजय पागल रहेछ यार प्यारी । बिहे पूर्व कुमारीत्व गुमाएको केटी बिहे नै गर्दैन भन्छ यार । यो पनि कहीं सम्भव छ, हैन त प्यारी ?’
‘यो असम्भव । भ्रम हो । हाम्रो बिहे हुँदा म बीस वर्षकी थिएँ तर मैले सोह्र वर्षमै कुमारीत्व गुमाइ सकेकी थिएँ ।’ श्रीमतीको कुरा सुनेर विवेक छाङ्गाबाट खसे झै भयो ।
छविलाल खड्का
कोहलपुर