FB_IMG_1674385168630
साहित्यकार छविलाल कोपिला


मोहनपुर

एक झम्को निद ब्युझिनु अगावै
जूनसँगै आँगनमा उभिएर
मोहनपुरको एक जोड आँखाहरू
सुन्दर सपनाका ताराहरू गिनिरहेछन्
आकांक्षका बगैचाहरूमा
फुलेका असंख्य फूलहरू हेरिरहेछन्
तर, जब खुल्छन्, निदका पर्दाहरू
मोहनपुरलाई लाग्यो
आकाश त दुरुस्तै शुन्य रहेछ
रहर लाग्दा फूलका हाँगाहरू पनि रित्तै रहेछन् ।

मोहनपुर एकतमासले हेरिरहेछ
भविष्यका गोरेटोहरू
केही थान बाँसका तटबन्धनले बनाइएको सम्बन्धहरू
समयक्रमसँगै बन्छन्, भत्किन्छन्
क्रम जारी छ ।

यता,
मोहनपुर ब्युँतियो कि सुतिरहेछ भनेर
सरकार पल्लो ढिकमा उभिएर हेर्छ
बार्दलीबाट चियो गर्छ
गैरसरकारहरू आँखीझ्यालबाट नियाल्छन्
र सहानुभूतिको एक टुक्रा रोटी फ्याँकेर
भाइ–भाइबीचको रणसंग्राम हेर्दै
बेसुर ताली बजाइरहेछन् ।

हरेक वर्ष
मोहनपुरमा
जलमार्ग भएर सुनामीहरू आउँछन्
हवाइमार्ग भएर मीठा आश्वासनहरू आउँछन्
तर भू–मार्ग भएर कहिल्यै विकास आउँदैनन् ।

बरू, सुनामीसँगै आएर फैलिरहेका छन्
त्रासदीपूर्ण विभिन्न झारहरू
र रेलका डिब्बा जस्तै
थपिरहेकाछन् अभावहरू ।

हरेक बिहान उदाउँछ र अस्ताउँछ
तर, मोहनपुरमा कहिल्यै घाम पुग्दैन
बरू दु:खको बिस्कुन हेर्न आइपुग्छ एकछिन जून
र, छिनभरमै घुम्तोभित्र मस्तसँग निदाउँछ अौंसी !

मोहनपुर
धेरै समयदेखि हेरिरहेछ
एक थान नागरिकताभित्र आफ्ना छायाँहरू
आफूले टेकेको एक टुक्रा भूगोल
तर, ऊ आफै पनि ठम्याउन सकिरहेको छैन
म नागरिक हुँ या गैरनागरिक भनेर ।

मोहनपुरमा
समयले पटक-पटक चुनाव पठाउँ
र, पठाउँछ
कहिल्यै गन्तव्य नभेटिने जेरीजस्तै मीठा सपनाहरू

उता बार–बार उसलाई खबरदारी गर्छन्
सीमामा ठडिएका जंगे पिलरहरू
ऊ सुनेको छ
पिलरहरू रात परेपछि हिड्दारहेछन्
रात परेपछि वर–वर सर्दोरहेछन्
यसकारण मोहनपुर
एक मुठी जाग्राम ऊ सँगै साथी छोडेर
आफू अर्ध निदमै रात काटिरहेछ ।

मोहनपुरसँग
पुतलीजस्तै छिरबिरे रंगका
प्राचीन कला, संस्कृतिहरू छन्
उसका ईतिहास छ
ऊ सँग एउटा जिन्दगी पनि छ
तर,
ऊ जिन्दगी जस्तो जिन्दगी बाँचिरहेको छैन ।

मोहनपुर कैलाली जिल्लाको कैलारी गाउँपालिका-३ मा पर्ने मोहना नदी पारिको गाउँ हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ