१४ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा श्रमिक र मजदुरको अभाव हुन नदिन सबैले खेत जोत्न जान्नै पर्ने बताएका छन् ।
पछिल्ला केही दिन यता धान रोपाईको चटारोमा रहेका किसानहरुलाई काम सघाउन व्यस्त रहेका रेशमले स्वदेशमा उत्पादनमा जोड दिनु आजको आवश्यकता रहेको समेत बताए ।
मुलुक आत्मनिर्भर हुन वैज्ञानिक रुपमा खेतिको अभ्यास गर्नु पर्ने र त्यसकालागि सरकारले विशेष योजनासहित कार्यान्वयन स्तरमा जानु पर्ने उनको भनाई छ ।
किसानलाई सबैले उच्च स्थानमा राखेर सम्मान गर्नु पर्ने भन्दै रेशमले किसानले उत्पादन नगरे जतिसुकै धनीले पनि खानेकुरा नपाएर भोकै मर्नु पर्नेतर्फ ध्यान दिन समेत आग्रह गरे ।
उनले नागरिक उन्मुक्ति पार्टी सधै सतहमा बसेर जनताको नजिकको साथी बन्ने भन्दै सडक, सदन र सरकारबाट समेत जनताको सेवामा प्रतिबद्ध रहेको समेत बताए ।